अङ्ग्रेजी भर्सन पछि ‘तिलस्मी’ उपन्यास अडिओमा पनि 

-तुलसी गिरी ‘भावुक’


बहुआयामिक साहित्यकार डी. आर. ( दिनेश कुमार राई ) द्वारा लिखित समाज रुपान्तरणमा आधारित उपन्यास ‘तिलस्मी’ श्रव्य रुपमा पनि प्रकाशन भएको छ l ३ सय २८ पृष्ठको यो उपन्यास गत मार्च २५ तारिख लेखककै अफिसियल युट्युब च्यानल Dr Music Center Nepal बाट अडिओ भर्सनमा सार्वजनिक भएको हो l जसमा पवनराज पौडेलको स्वर रहेको छ l समयको माग अनुसार विकशित डिजिटल प्रविधिको सदुपयोग गर्दै पढ्न भन्दा सुन्न मन पराउनेहरुलाई लक्षित गरी उपन्यासलाई श्रव्य रुपमा प्रकाशन गरिएको कुरा उपन्यासकार डी. आर. ले बताएका छन् l २०७५ मा पहिलो संस्करणको रुपमा आएको यस उपन्यासको २०७६ मा दोस्रो संस्करण पनि प्रकाशन भईसकेको छ भने यसैको अङ्ग्रेजी अनुवाद SPROUTS ON THE ROCK समेत बजारमा आएको छ l जसलाई महेश पौड्यालले अनुवाद गरेका हुन् l

बाचा (२०५९), यादमा (२०६५), भूल (२०६८), फष्ट मुभ (२०७०), गहिराई (२०७३) र भुइँचम्पा (२०७७) गरी ६ वटा गीति एल्बम प्रकाशन गरी सङ्गीत क्षेत्रमा एक कुशल गीतकारको पहिचान स्थापित गरिसकेका साहित्यकार डी. आर. ले हालसम्म नयाँ मोडहरुमा (२०६३), कान्तिपुरदेखि सन्दकपुरसम्म (२०६६), आत्मभाव (२०७२), तिलस्मी (२०७५), समयको डोब (२०७७) र सेन्टोसा गरी फरक विधाका छवटै पुस्तक समेत प्रकाशन गरेका छन् l

नेपाली र अङ्ग्रेजी अनुवाद गरी दुई भाषामा प्रकाशन भएको उपन्यास ‘तिलस्मी’ एउटा चमत्कारिक घटनाक्रम, कौतुहलता र रोमाञ्चकताले भरिएको छ l उपन्यासले साहस, आत्मविश्वास र ईच्छा शक्ति भएमा असम्भव भन्ने केही हुँदैन र दुर्लभ उपलब्धी पनि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ l सकारात्मक परिवर्तनको संवाहक बनेर आएको यस उपन्यासले समाजभित्र जरा गाडेर बसेका कुरीति, कुसंस्कार र कुचिन्तनहरुका पर्दाहरु हटाएर सबैका सामु छर्लङ्ग राखेको छ l अविचलित र कर्तव्यनिष्ठ भएर दृढ सङ्कल्पका साथ अघि बढिरहे लक्ष्य प्राप्ति निश्चित छ भन्ने कुरा उपन्यासले बोलेको छ l

बाल मनोविज्ञानका संवेदनशील पाटाहरु अनि किशोरावस्थामा विकशित हुने मानसिक एवं शारीरिक परिवर्तन र स्वाभाविक रुपमा उत्पन्न हुने यौनिक कौतुहलतालाई उपन्यासकारले शुक्ष्म ढङ्गमा केलाएका छन् l ‘तिलस्मी’ ढङ्गले बगेको पराधिनता बिरोधी यस उपन्यासमा देशप्रेम र आत्मनिर्भरताको सन्देशलाई पनि बुलन्दसँग प्रस्तुत गरिएको छ भने जातीय-वर्गीय भेदभाव र छुवाछुतको पर्खाल भत्काउँदै समय सापेक्ष सामाजिक रुपान्तरणको असिम सम्भावनाको सकारात्मक उर्जा पोखिएको छ l कौतुहलताभित्र बाँधिराख्ने क्षमता उपन्यासको अर्को सवल पक्ष हो l सरल र बोधगम्य शब्द शैलीमा चेतनाको मसाल बनेर आएको यस उपन्यासको अडिओ भर्सनले पुस्तकका पाठकहरुलाई झैं नयाँ युगका श्रोताहरुलाई समेत तृप्त पार्ने छ भन्ने विश्वास गर्न सकिन्छ l