‘विश्व रङ्गमञ्च दिवस’ को अवसरमा साँस्कृतिक संस्थानद्वारा नाटक मञ्चन

-तुलसी गिरी ‘भावुक’


६१ औं ‘विश्व रङ्गमञ्च दिवस’ को अवसरमा आईतबार साँस्कृतिक संस्थानले नाटक मञ्चन गरेको छ l संस्थानले वीरेन्द्र हमालको परिकल्पना एवं निर्देशनमा वरिष्ठ चित्रकार किरण मानन्धरको चित्रमा आधारित नाटक ‘सिमली फूल’ को मञ्चन गरेको हो l कार्यक्रम संस्थानको सञ्चालक समितिका अध्यक्ष प्रेमनाथ अधिकारीको सभापतित्व एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l

समारोहमा अतिथिहरुलाई स्वागत गर्दै संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले ‘विश्व रङ्गमञ्च दिवस’ को अवसरमा गतवर्ष ‘वुद्ध थिएटर फेस्टिवल’ सप्ताहव्यापी रुपमा मनाईएको भएपनि कोभिड लगायतले गर्दा पूर्व तयारी अपर्याप्त भएका कारण यसवर्ष बैशाख २ गतेबाट मनाउने तयारी भईरहेको कुरा जानकारी गराएका थिए l आगामी असार ५ गते आयोजना हुने संस्थानको बार्षिकोत्सव कार्यक्रमलाई आम जनमानसले समेत महसुस गर्नेगरी, संस्थानलाई मान्छेहरुले बाहिरबाट हेर्ने दृष्टिकोण बदल्नेगरी र अपनत्व झल्कने किसिमले सम्पन्न गर्ने तयारी भईरहेको कुरा महाप्रवन्धक राईले समारोमा उद्घोष गरेका थिए l सरकारको पूर्ण स्वामित्वमा रहेको भएपनि संस्थानको भवन निर्माणको लागतलाई सरकारले ऋणको रुपमा राखेको विषय उठान गर्दै महाप्रवन्धक राईले सरकारको सो निर्णय अन्यायपूर्ण भएको बिचार राखेका थिए l उनले सो ऋण मिनाहाका लागि पहल गरिदिन सम्बन्धित निकायका जिम्मेवार अधिकारीहरुलाई अनुरोध समेत गरेका थिए l संस्थानले छिट्टै ‘साँस्कृतिक फोटो पुस्तक’ प्रकाशन गर्ने, नेपालभरिका कलाकर्मी एवं संस्कृतिकर्मीहरुलाई सूचीकृत गरी उनीहरुसँग सहकार्य गरिने र संस्थानले विभिन्न विधामा प्रदान गर्दै आएका पुरस्कारहरुलाई वार्षिकोत्सवका अवसरमा राष्ट्रपतिको हातबाट प्रदान गर्ने परम्पराको थालनी गर्न लागिएको कुरा समेत समारोहलाई उनले जानकारी गराएका थिए l

यसैगरी समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सरकारले संस्थानको भवन ऋणमा निर्माण गर्नु उपयुक्त नभएको बिचार राख्दै त्यसलाई मिनाहा गर्नका लागि आफ्नो मन्त्रालयले पहल गर्ने वचनवद्धता व्यक्त गरेका थिए l ‘विश्व रङ्गमञ्च दिवस’ को शुभकामना दिँदै उनले भने –’ दही मोहीको स्वाद र पौष्टिकता कोकाकोला र फ्यान्टाले दिन नसके झैं रङ्गमञ्चको मिठास र मौलिकता अरु केहीबाट पूरा हुँदैन l’

समारोहमा डा. शिव रिजालले विश्वविख्यात अमेरिकी ओपेरा निर्देशक पिटर सेलार्सले ‘विश्व रङ्गमञ्च दिवस’ को अवसरमा पठाएको गहन र वौद्धिकतापूर्ण सन्देश पढेर सुनाएका थिए l

लगभग आधा घण्टा लामो सो नाटकले सशस्त्र द्वन्द्वले फुल्दै, फक्रदैगरेका कलिला जिन्दगी र हाँसीखुशी परिवार अनि समाजलाई एकैछिनमा कसरी तहसनहस पार्छ भन्ने कारुणिक कथा प्रस्तुत गरेको थियो l नाटकमा सुजाता खनाल, अञ्जली शाह, राजिव श्रेष्ठ, वीराज कोठी, हेमराज मल्ल, लक्ष्मण देउवा, ज्योति कुमारी साह, प्रशान्त बगाले, सुदिप पटेल, जगत बहादुर भुजेल, रेखा श्रेष्ठ, सुशिला थापा लगायत लगभग २ दर्जन कलाकारहरुले अभिनय गरेका थिए l

समारोहमा संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, वरिष्ठ चित्रकार किरण मानन्धर, डबली थिएटरका अध्यक्ष पुष्कर गुरुङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो l