साँस्कृतिक संस्थानले ‘साँस्कृतिक फोटो प्रतियोगिता’ को आयोजना गर्ने l

-तुलसी गिरी ‘भावुक’


साँस्कृतिक संस्थानले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो ५० औं वार्षिकोत्सवको अवसरमा आगामी असार ५ गते साँस्कृतिक फोटो प्रतियोगिताको आयोजना गर्न लागेको कुरा जानकारी गराएको छ l संस्थानका अनुसार सो प्रतियोगितामा कुनैपनि नेपाली नागरिकले प्रदर्शनकारी कलाको परिधिभित्र रही मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्रा एवं साँस्कृतिक महत्वका फोटो स्वदेश तथा विदेशबाट समेत सहभागी गराउन सक्नेछन् l उत्कृष्ट ३ सय भन्दा बढी फोटो समेटेर ‘कल्चर फोटो बुक’ प्रकाशन गरिने छ l जस मध्येका १० सर्वोत्कृष्ट फोटोग्राफरलाई जनही रू. १० / १०  हजार, प्रमाणपत्र र ‘कल्चर फोटो बुक’ प्रदान गरिने छ l

प्राप्त जानकारी अनुसार प्रतिस्पर्धीहरुले यही चैत १ गतेदेखि २५ गतेभित्र संस्थानको वेभसाइट www.sanskritiksansthan.org.np मार्फत फोटो पठाईसक्नुपर्ने छ l एकजना प्रतियोगीले बढीमा १० वटासम्म फोटो पठाउन सक्नेछन् l प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी सो वेभसाइटमा समेत राखिएको छ l

अनौपचारिक रुपमा आयोजित सो पत्रकार सम्मेलनमा संस्थानका महाप्रवन्धक अशोक प्यासी राई, प्रतियोगिताका निर्णायकहरु फोकलर सोसाइटीका अध्यक्ष एवं लोकवार्ताविद् प्रा. तुलसी दिवस, राष्ट्रिय फोटो पत्रकार समूहका पूर्व अध्यक्ष एवं वरिष्ठ फोटो पत्रकार राजभाइ सुवाल र पीजे क्लवका पूर्व अध्यक्ष एवं वरिष्ठ फोटो पत्रकार विकाश कार्कीले सो प्रतिगोगिताको औचित्य, महत्व र सान्दर्भिकताका बारेमा जानकारी गराएका थिए l