एघारौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७८ सम्पन्न


एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा फागुन २१ र २२ गते ११ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७८ सम्पन्न भएको छ । विश्वमा देखिएको कोभिडको कारणले प्रत्यक्ष सहभागिता सम्भब नहुनाले भर्चुअल मार्फत एघारौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना भएको कुरा थाहा भएको छ । मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभीया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजीप्ट, लिथ्युनिया, पेरु, फिलीपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिंगापुर, स्लोभाकिया, साउथ अफिक्रा, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपाल सहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट ४२ विभिन्न साँस्कृतिक समूहहरुले भाग लिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष आरसी कोइरालाले ‘रामचन्द्र’ ले जानकारी गराएका छन् ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुख लक्ष्य बोकेर दुई दशक अघि स्थापना भएको संस्था हो । स्थापनाकालदेखि नै यस संस्थाले नेपालको साँस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आईरहेको छ । केही दशक यता नेपालले आफ्नो लोक संस्कृतिलाई विश्व समुदायसामु उजागर गर्न थालेको भएता पनि नेपाली पर्यटन क्षेत्रको प्रमुख आकर्षणको रुपमा रहनसक्ने सम्भावना भएको नेपालको अनौठो साँस्कृतिक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको छ । यस्तो स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको एभरेष्ट नेपाल कल्चरल ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ-आफ्नै भाषा र संस्कृतिहरु रहँदै आएको सर्वविदीतै छ । नेपाली संस्कृतिप्रति स्वदेशी भन्दा विदेशी बढि आकर्षित हुनु पर्यटन प्रबर्धनका दृष्टिकोणले राम्रै मान्न सकिएला l तर आफनो पहिचान र मौलिकता बोकेका संस्कृतिप्रति स्वयं नेपाली उदाशिन हुनु दुःख लाग्दो पक्ष हो । त्यसमा पनि वर्तमान युवा पिढी आफ्नो मौलिकतालाई विर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवर्धनका निम्ती कार्य गर्नु एभरेष्ट नेपाल कल्चरल ग्रुपको प्रमुख उद्देश्य हो । यसको लागि यस संस्थाले ‘पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार’ भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला “1st International Folk Festival 2002” साथै अन्तर्राष्ट्रिय बालबालिका लोक सांस्कृतिक मेलाका २०७५ आयोजना गरेको थियो । हरेक दुई दुई बर्षमा आयोजना हुने मेलालाई निरन्तरता दिदै यस संस्थाले एघारौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७८ भब्य रुपमा सम्मपन्न गरेको छ  प्रथम अन्तर्राष्टिय लोक साँस्कृतिक मेलादेखि हालसम्म आइपुग्दा करिब ७५ भन्दा बढि देशका ६ हजार ५०० सय भन्दा बढि कलाकारहरुले आ-आफनो देशको मौलिकता झल्कने झांकी सहित बिविध लोक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

आजका दिनसम्म आईपुग्दा यस संस्थाले विश्वको १०० भन्दा बढी अन्तर्राष्ट्रिय लोक सांस्कृतिक कार्यक्रम मार्फत नेपाली लोक संस्कृतीको पहिचान र प्रवर्धन गर्दै आएको छ । नेपाली संस्कृतिको उत्थान तथा साँस्कृतिक प्रर्यटन प्रवर्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदानप्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रवर्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको जानकारी संस्थाकी निर्देशक सीतल आचार्यले दिएकी छिन् ।

प्रत्यक्ष प्रसारण भएको यस मेलामा नेपालको तर्फबाट प्रस्तुत मघऔटा तथा कौरा नृत्यलाई वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीले निर्देशन गरेका थिए भने भैरबकाली नृत्यलाई चरिया गुरु चन्द्रमान मुनिकार तथा धिमे नृत्यको निर्देशन सुदन मुनिकरले गरेका थिए l यस मेलाको सङ्गीत संयोजन वरिष्ठ सङ्गीतकार राम भुजेलले गरेका थिए ।

१०० भन्दा बढी कलाकारहरु नृत्य र बाध्यबादनमा सहभागी भएको यस कार्यक्रमका वरिष्ठ निर्देशक नारायण रायमाझी हुन् भने निर्देशकहरु, सीतल आचार्य ‘सिता’, प्रदिप तिलिल्सिना, दुर्गा रायमाझी, जोगेन्द्र केसी, चन्द्र शर्मा, दीपेन्द्र राम भण्डारी, राम बहादुर भुजेल, शम्भु शाही, बिधान कोइराला, डेक प्रशाद अधिकारि (गोपाल) धनेश्वर तिवारी, राम पाण्डे लागायतले दिनरात मेला सम्मपन्न गर्न काम गरेका थिए । मेलालाई भब्य र सभ्य रुपमा सप्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई एभरेष्ट नेपाल कल्चरल ग्रुप धन्यवाद प्रकट गर्दछ ।’