डा. उपाध्यायद्वारा पत्रकारहरुमाझ क्विज प्रतियोगिता, विश्व रेकर्डका विधा थपिँदै

-तुलसी गिरी ‘भावुक’


विश्व कीर्तिमानी गीतकार डा. डी. आर. उपाध्यायले आज एक कार्यक्रमको आयोजना गरी पत्रकारहरुबीच क्विज प्रतियोगिताका साथै आफ्ना गीतहरुको बारेमा परिचायक मन्तव्य सम्पन्न गरेका छन् l कार्यक्रममा गीतकार उपाध्यायले उपस्थित पत्रकारहरुमाझ आफ्ना कृतिहरुसँग सम्बन्धित विभिन्न प्रश्नहरु राखेका थिए भने पत्रकारहरुले हात उठाएर पालैपालो प्रश्नहरुको उत्तर दिएका थिए l जसमध्ये सही उत्तर दिने १० जना पत्रकारहरु पुरस्कृत समेत भएका छन् l

समारोहमा बहु आयामिक सर्जक डा. उपाध्यायले आधा घण्टा आफ्ना गीतहरुको बारेमा परिचायक मन्तव्य समेत राखेका थिए l आधा घण्टाको मन्तव्यमा उनले १ सय २ गीतको भाव, रचनाकाल र रचना गर्नुको उद्देश्य, सो गीतका गीतकार, सङ्गीतकार, गायक / गायिका आदिको बारेमा जानकारी गराएका थिए l यस प्रकारको कार्यक्रम विश्वमै पहिलोपटक भएको कुरा थाहा भएको छ l यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विभिन्न ८० विधामा विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार डा. उपाध्यायले निकट भविष्यमै एक समारोहको आयोजना गरी १०० भन्दा बढी विश्व रेकर्डका विधा सार्वजनिक गर्ने तयारी भईरहेको कुरा थाहा भएको छ l

कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र मिलाप फाउण्डेशनकी अध्यक्ष तथा चलचित्र पत्रकार सङ्घकी पूर्व उपाध्यक्ष गीता अधिकारीले डा. उपाध्यायका कृति र उनको साहित्यिक व्यक्तित्वको बारेमा चर्चा गर्दै विश्व रेकर्डका माध्यमबाट नेपाल र नेपालीको गौरव बढाउने काम गरेकोमा डा. उपाध्यायप्रति आभार प्रकट गरेका थिए l