वासुदेव अधिकारीको गीति एल्बम ‘घाम आउँछ छाया दिन्छ’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’


लामो समय अघिदेखि साहित्यका विविध विधामा कलम चलाउँदै आएका सर्जक वासुदेव अधिकारीको एकल शब्दरचनामा रहेको गीति एल्बम ‘घाम आउँछ छाया दिन्छ’ लोकार्पण भएको छ l जमलस्थित राष्ट्रिय नाचघरको मिनी हलमा आइतबार आयोजित एक समारोहमा सो गीति एल्बम लोकार्पण गरिएको हो l समारोह साहित्य सन्ध्याका अध्यक्ष राम विनयको सभापतित्व एवं प्रसिद्ध कलाकारद्वय ‘मह’ को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो l

लोकार्पित एल्बममा ‘माटो पर्खिदैछ’, ‘रोल्वालिङ खोली’, ‘सुन साथी’, ‘वुद्ध बन’, ‘साउने झरी’, ‘खरी झर्यो’, ‘समय छ’, ‘घाम आउँछ’ र ‘सास रैछ सास’ गरी विविध भावका ९ वटा गीत रहेका छन् l जसमा विकाश चौधरी, रुपक चौधरी, नारायण लामा, बलराम समाल, मधुकर लोहनी र मनोहर सुनामको सङ्गीत रहेको छ भने राजेशपायल राई, रुपक चौधरी, आकाश थापा, दुर्गा परियार, बलराम समाल, दिपेन्द्र विक्रम थापा, सञ्जय तुम्रोक र मधुकर लोहनीले स्वर दिएका छन् l

समारोहमा एल्बमका कूल गीत मध्ये ‘सास रैछ सास’ को भिडिओ समेत प्रदर्शन गरिएको थियो l राजेश थापाद्वारा निर्देशित सो भिडिओमा उत्तम के.सी., भीमा मैनाली उप्रेती, मदन कुमार श्रेष्ठ, रचना शिवाकोटी, ओजाश थापा र शुभेक्षा मेयाङ्बोले अभिनय गरेका छन् भने सागर खनालको सम्पादन र याङ्चेन लामाको सिनेम्याटोग्राफी रहेको छ l कार्यक्रममा प्रा. डा. कृष्णहरि बरालले एल्बमका गीतहरुको र वरिष्ठ सङ्गीतज्ञ शिला बहादुर मोक्तानले सङ्गीत र गायनको बारेमा समीक्षा गरेका थिए l