वैदेशिक रोजगारीले निम्त्याएको पीडा म्युजिक भिडिओमा

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गीतकार तारा अधिकारीको शब्दरचनामा रहेको गीत ‘हाँसीखुशी’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ गीतकार अधिकारीकै आधिकारिक युट्युब च्यानल Sunaulo Tara Motion Pictures बाट मङ्गलबार डिजिटल बजारमा आएको हो l हरि लम्सालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको यस गीतमा प्रवीन बेडवालले स्वर दिएका छन् l अकोष्टिक स्टुडियोका प्राविधिक राजाबाबु चौधरीले रेकर्ड गरेको यस गीतमा प्रकाश मिश्रको मिक्सिङ / माष्टरिङ रहेको छ l

भिडिओ सागर बाबु भट्टको निर्देशन, नवराज उप्रेतीको छायाङ्कन र प्रवीन भट्टको सम्पादनमा तयार भएको हो l जसमा रामचन्द्र अधिकारी, रमा थपलिया, जीवन भट्टराई, रक्षा थापा, मदन सेञ्चुरी र बालकलाकार आयुबले अभिनय गरेका छन् l भिडिओ बीपी फिल्मस्को पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l

गीतमा बाध्यताबश बैदेशिक रोजगारमा गएको एक युवाको पीडा र कथाव्यथा मर्मस्पर्शी रुपमा पोखिएको छ l नेपाली ग्रामिण समाजको यथार्थपरक भाव बोकेको यस गीतले निम्नवर्गीय लाखौँ परिवारको कारुणिक कथालाई उजागर पारेको छ l

यसैगरी गीतको भाव अनुसार कथात्मक रुपमा निर्माण गरिएको यस भिडिओमा साहुसँग पैसा लिएर बैदेशिक रोजगारीमा जाने युवाहरुको परिवारले खेप्नुपरेका दर्दनाक प्रताडना र वृद्ध आमाबाबुको सहाराका लागि भरोसा गरेर घरमा छाडिएकी श्रीमती अर्कैसँग फरार भएका घटनाहरु प्रस्तुत गरिएको छ l जुन घटनालाई बैदेशिक रोजगारीले निम्त्याएको एउटा तीतो यथार्थको रुपमा लिन सकिन्छ l गीत तथा भिडिओले नेपाली ग्रामिण समाजभित्रको एउटा भयावह पाटोलाई जस्ताकोतस्तै उतारेको छ l