कलात्मक भाव सौन्दर्यता र माधुर्यता पस्कँदै गायक योगी

-तुलसी गिरी ‘भावुक’


मेलोडी सुल्तान शिशिर योगीले पुन: गहन भावको अर्को गीत ‘दैब जानोस्’ को भिडिओ सार्वजनिक गरेका छन् l भिडिओ गायक योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi  बाट २ दिन अघि डिजिटल बजारमा आएको हो l

दीपक कौडिन्यको शब्दरचना, राजकुमार श्रेष्ठको सङ्गीत र नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको यो गीत सङ्गम डिजिटलका प्राविधिक मित्र लामाले रेकर्ड र मिक्सिङ गरेका हुन् l भिडिओ लोकेश भाटको सम्पादन एवं ग्राफिक्समा तयार भएको हो l

गीतमा अन्तर्मनका पीडालाई भावको उच्चतम गहिराईबाट कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ l शब्द, सङ्गीत र स्वरको अद्भुत सङ्गम रहेको यो गीतलाई पनि गायक / सङ्गीतकार योगीका उल्लेख्य गीतहरु मध्येको एक गीतको रुपमा लिन सकिन्छ l गीत रेकर्ड गर्नु अघि शब्द छनोटलाई विशेष प्राथमिकतामा राख्दै आएका योगी शब्दमा कलात्मक भाव सौन्दर्यता र गायनमा माधुर्यता खोज्ने श्रोताहरुमाझ रोजाईका गायक हुन् l