ज्ञान्दरीको एकल रचना र सागरको एकल सङ्गीतमा गजल एल्बम ‘मञ्जरी’

-तुलसी गिरी ‘भावुक’


ज्ञान्दरी कैनीको एकल शब्दरचना र सागर अधिकारी ( शरद ) को एकल सङ्गीतमा रहेको गजल एल्बम ‘मञ्जरी’ को लोकार्पण भएको छ l शुक्रबार बागबजारस्थित होटल हार्दिकको सभाहलमा आयोजित समारोहमा सो गजल एल्बमको लोकार्पण गरिएको हो l कार्यक्रम वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यता एवं अल्ट्रा ग्राफिक्सका प्रमुख सल्लाहकार तीर्थराज भट्टको सभापतित्वमा सम्पन्न भएको थियो l

गजल एल्बम ‘मञ्जरी’ मा सत्यराज आचार्य, मिलन नेवार, सागर अधिकारी ( शरद ) र निशा देसारको स्वरमा ‘मदिराले आज’, ‘सागरको छाल’, ‘मनमोहिनी’ र ‘सिङ्गो रात थियो’ गरी ४ वटा गजल रहेका छन् l जसमध्ये समारोहमा २ वटा गजलको भिडिओ समेत प्रदर्शन गरिएको थियो l दुबै भिडिओमा सुरेन बस्यालको निर्देशन रहेको छ भने केकी अधिकारी, प्रिन्स विश्वकर्मा, महेश खड्का, रविन के. सी. र शिला गजुरेलले अभिनय गरेका छन् l भिडिओमा उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ l

समारोहमा सङ्गीतकार राजु सिंहले सङ्गीत र प्रा. डा. कृष्णहरि बरालले शब्दरचनाको बारेमा समीक्षा गरेका थिए भने अन्य अतिथिहरु राधेश्याम लेकाली, युवराज नयाँघरे, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल लगायतले गजलकार कैनीसंगका संस्मरण, उनको साहित्यिक व्यक्तित्व र स्वभावको बारेमा चर्चा गर्दै गजलकारलाई शुभकामना दिएका थिए l
गजलकार ज्ञान्दरी कैनीको जन्मदिनको अवसर पारेर आयोजना गरिएको सो गजल एल्बम लोकार्पण समारोहमा केक काटेर जन्मोत्सव समेत मनाईएको थियो l कार्यक्रम सञ्चारकर्मी राधिका अधिकारीले सञ्चालन गरेकी थिईन् l समारोहमा एल्बमसँग सम्बन्धित सर्जक, कलाकार र सहयोगीहरुलाई प्रशंसापत्र वितरण गरिएको थियो l ‘मञ्जरी’ ज्ञान्दरी कैनीको पहिलो साङ्गीतिक कृति भएको कुरा थाहा भएको छ l