-तुलसी गिरी ‘भावुक’
लोकप्रिय गायक कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘छोडि गयौ’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ एकदिन अघि मात्र गायक परियारकै अफिसियल युट्युब च्यानल Kanhaiya Singh Pariyar बाट डिजिटल बजारमा आएको हो l प्रतिष्ठित चित्रकार समेत रहेका ज्योतिप्रकाशको शब्द / सङ्गीत तथा विप्लव अधिकारीको सङ्गीत संयोजन रहेको यो गीत ओपल रेकर्डिङ स्टुडियोका प्राविधिक विप्लव अधिकारीले रेकर्डिङ / मिक्सिङ गरेका हुन् l
न्युयोर्क, अमेरिकाको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन भएको यो भिडिओ ओम कर्माचार्यको निर्देशन, सिनेम्याटोग्राफी र सम्पादनमा निर्माण भएको हो l भिडिओमा रुडी शर्मा, अपेक्षा सिंह र रमेश आचार्यको अभिनय रहेको छ l सामान्य अविश्वाश र शङ्काले गर्दा एक अर्कालाई हृदयदेखि नै माया गर्ने दुई प्रेमीको बीचमा बढेको दूरी र टुट्न लागेको साथ अनि वास्तविकता थाहा भएपछि पुनर्मिलन भएको कुरा भिडिओमा देखाईएको छ l कहिले काहिँ आफ्नै आँखाले देखेको कुरा पनि झुटो हुन सक्छ र शङ्काले अनाहकमा कसरी लंका जलाउँछ भन्ने सन्देश भिडिओले दिएको छ l
विगत ३ दशक भन्दा लामो समयदेखि निरन्तर सङ्गीतकर्ममा लागिरहेका कन्हैया सिंहले पूर्व समयमा नेपालगञ्ज बजारैमा (२०५७ ), तिम्रो साथ (२०६०), अपेक्षा (२०६२), पिरतीको फूल (२०६४), आलाप (तिम्ले भुल्न सकेपनि-२०६६), आलाप-२ (मन हुनेको माया-२०७०) र आलाप-३ (वा रे वा-२०७४) गरी ७ वटा एल्बम प्रकाशन गरिसकेका छन् भने तिम्ले भुल्न सकेपनि, जुन गीत सुनेर मीठो आभाष हुन्छ, वाह रे वाह, ठ्याक्कै भेटौंला, मन हुनेको माया र धन हुनेको मायामा, मुटुमा पीडा भएपनि, म हुँ पश्चिमको छोरो, चढेर हेर हिमाल त्यो, धनगढिकी बैंशालु सुन्दरी, आँशुको मूल्य सोध, अलिकति अवाज देऊ मैले गीत गाउँदा, नेपालगञ्ज बजारैमा घाम लाग्यो घमाईलो लगायतका उनका गीत स्रोताले सर्वाधिक मन पराएका छन् l