भैरवनाथ रिमालको सम्झनामा ‘स्मृति सभा’

-तुलसी गिरी ‘भावुक’


गीतकार सङ्घ नेपालले अग्रज गीतकार भैरवनाथ रिमाल ‘कदम’ को ‘प्रथम बार्षिक स्मृति सभा’ सम्पन्न गरेको छ l आइतबार बिजुलीबजारस्थित सङ्घकै सभा हलमा सो कार्यक्रमको आयोजना गरिएको थियो l ‘स्मृति सभा’ मा उपस्थित सबैले भैरवनाथ रिमाल ‘कदम’ को तस्बीरमा पुष्प अर्पण गरेका थिए l  

सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कार्यसमित उपाध्यक्ष वसन्त बित्याशी थापा, महासचिव रमेश कोईराला, सचिव महेश आचार्य, कोषाध्क्ष जे.बी. संयोगी, सदस्य टीका राई ‘शिव’ एवं आजीवन सदस्य बालक गुरुङ, साधारण सदस्य रमेश दहालका साथै अमरत्व प्राप्त गरेका सर्जक भैरवनाथ रिमाल ‘कदम’ को परिवार तर्फबाट छोरीहरु शोमना रिमाल क्षत्री, रेखा ढकाल रिमाल, अमृता शर्मा रिमाल, छोरा अभिषेक रिमाल, बुहारी विध्या रिमाल, नातिनीहरू श्लेष्मा क्षत्री र कासिका ढकाल र नाति अमोध शर्माको समेत उपस्थिति रहेको थियो l

समारोहमा सभापतिको आसनबाट बोल्दै सङ्घका अध्यक्ष शुभ मुकारुङले भैरवनाथ आफ्नो समयका अत्यन्तै सफल गीतकार भएको बताए l ‘उहाँ जस्ता अग्रज पुस्ताकै कारणले हाम्रो पुस्ता जन्मिएको हो’ मुकारुङले भने l आगामी दिनमा दिवंगत सर्जकका सिर्जनाहरुमाथि समीक्षात्मक टिप्पणी सहितको ‘स्मृति सभा’ आयोजना गर्ने सङ्घको योजना रहेको कुरा समेत अध्यक्ष मुकारुङले सभालाई जानकारी गराएका थिए l

यसैगरी सभामा अमर सर्जक ‘कदम’ की छोरी रेखा रिमाल ढकालले आफ्नो बाबासँग जोडिएका घटनाहरु स्मरण गर्दै भनिन् –’पोहोर यतिबेला हामी अस्पतालमा छट्पटाइरहेका थियौं l डाक्टरले ‘उहाँको केही ईच्छा भए पूरा गरिदिनु’ भनेपछि एम्बुलेन्समा राखेर बाबालाई घर ल्यायौं l एम्बुलेन्सबाट आँगनमा झार्नासाथ बाबाले संदाका लागि आँखा चिम्लिनुभयो l’ आफू जन्मिएपछि बाबाले कान सुन्न छाडेको स्मरण गर्दै उनले अगाडि भनिन् –’म बाबाको कान थिएँ l कुनै गीत रेकर्ड भएपछि मलाई सुन्न लाएर ‘कस्तो छ ?’ भन्नुहुन्थ्यो l मैले राम्रो छ भनेपछि बाबालाई पनि राम्रै छ भन्ने लाग्थ्यो l

समारोहमा भैरबनाथका छोरा अभिषेक रिमालले पनि आफ्नो बाबाको अभाव झन् झन् खड्किरहेको बताए l उनले भने-‘बाबाका ६ सय गीत छन् भन्ने सुनेको छु l २ सय ५० चाहिं डिजिटल गरेर राखिसकें, अरु खोजी गर्दैछु l उहाँका धेरै रसमा गीत छन् l ती मध्ये करुण रसका गीत श्रोताले अलि बढी मन पराएको जस्तो मलाई लाग्छ l उहाँ लोक र आधुनिकलाई फ्युजन गरेर पनि गीत लेख्नुहुन्थ्यो l कान सुन्न छाडेपछि उहाँका कतिपय गीत रेकर्ड हुँदा शब्दहरु बिग्रिएको पनि मैले पाएँ l’ कार्यक्रममा छोरी सोमना रिमाल क्षत्रीले पनि बाबासँगका स्मृतिहरू सुनाएकी थिईन् l

भैरवनाथ, गीतकार सङ्घले अग्रज सर्जकहरुलाई प्रदान गर्दै आईरहेको ‘राष्ट्रिय श्रष्टा सम्मान २०७२’ बाट सम्मानित भएका थिए l गीतकार सङ्घमा छोरा अभिषेक संरक्षक रहनेगरी ‘कदम’ को नाममा अक्षय कोष समेत खडा गरिएको कुरा अध्यक्ष शुभ मुकारुङले जानकारी गराएका छन् l कार्यक्रमको सहजीकरण सङ्घका महासचिव रमेश कोईरालाले गरेका थिए l