गीत मार्फत विश्वलाई सन्देश छर्दै गायक निमा

-तुलसी गिरी ‘भावुक’


‘रहन्छ कहाँ विश्व नै यहाँ हिमालै नरहे
विश्वका मानिस एकजुट भई बचाउँ है हिमाललाई’


निमा शेर्पा ( लामा ) ले अन्तर्राष्ट्रिय सन्देशमूलक गीत ‘विश्वलाई सन्देश’ को भिडिओ सार्वजनिक गरेका छन् l ‘३० बर्ष अघि नाम्चे जाँदा हिमालहरु झपक्कै हिउँले ढाकिएका थिए l तर अहिले जलवायु परिवर्तनको असरले गर्दा हिमालका धेरैजसो हिउँ पग्लिसकेछ l चट्टानै चट्टानको पहाड भईसकेछन् हिमालहरु l हिमालमा २५ प्रतिशत मात्र हिउँ देखें मैले l यदि हिमालमा हिउँ नरहे खोलानाला, सागर समेत सुक्ने र पृथ्वीमा मानवजाति माथि नै खतरा उत्पन्न हुने देखेर हिमाललाई बचाउँ भन्ने सन्देशमूलक गीत निकालेको हुँ’ गीतका रचनाकार, सङ्गीतकार तथा गायक निमा भन्छन् l व्यक्तिगत र संस्थागत दुबै रुपमा जसले जे सक्छ त्यही गरेर हामीले जलावायु परिवर्तनलाई कम गर्दै लान सकेनौं भने हाम्रा सन्ततिहरुको अस्तित्व खतरामा रहेको उनी बताउँछन् l

गीतमा पेमा लामाको म्युजिक एरेन्ज रहेको छ l पाथीभरा च्यानलको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडिओका सिनेम्याटोग्राफ़र तथा सम्पादक राजेन्द्र कुमार श्रेष्ठ हुन् l भिडिओमा अङ्ग्रेजी सबटाइटल समेत राखिएको छ l गीतको अङ्ग्रेजी अनुवाद भने अम्बिका सुब्बाले गरेकी हुन् l

सागर सुब्बाद्वारा निर्देशित शेर्पा संस्कृतिमा आधारित बहुचर्चित चलचित्र ‘कु-सुम’ का निर्माता एवं कलाकार निमाले सो चलचित्रमा समेत २ वटा गीत लेखेका थिए l यतिबेला उनको डायरीमा रेकर्ड हुन बाँकी रहेका केही गीत पनि छन् l तिनलाई रेकर्ड गरी क्रमैसँग बजारमा ल्याउने कुरा उनले बताए l यसअघि आफ्नै शब्द/सङ्गीतमा शेर्पा भाषाको गीत दाक्पी टोङ्बा ( हाम्रो संस्कृति ) गाएर भिडिओ समेत निकालेका निमाको स्वरमा रहेको यो दोस्रो गीत हो l

पूर्वी पहाडी जिल्ला भोजपुरको, दोभाने जन्मस्थान भएका निमा शेर्पा ( लामा ) २०५३ सालदेखि भने स्थाई रुपमा राजधानीका बासिन्दा हुन् l आफ्नो मातृभाषा, भेषभूषा र संस्कृतिलाई औधी माया गर्ने निमाले आफ्नो साँस्कृतिक परम्परा नहराओस् भनेर अहिलेसम्म ३०० जति नयाँ पुस्ताका युवालाई ‘स्याब्रु’ नृत्य समेत सिकाएका छन् l हिमाललाई बचाउँ भन्ने गीतको भिडिओ रिलिज भएपछि ‘समय सान्दर्भिक, जनचेतनामूलक र राष्ट्रप्रतिको प्रगाढ माया भएको गीत’ भन्दै फेसबुकमा धेरैले राम्रा प्रतिक्रियाहरु लेखेको कुरा उनले बताएका छन् l

२ दशकभन्दा अघिदेखि सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहँदै आएका निमा आफ्नो सम्प्रदायका धेरै सङ्घ–संस्थाहरुमा आवद्ध रहेका छन् l ‘च्यारुङ खश्योर यूल्तेन शेर्पा युवा क्लव’ मा सुरुमा संस्थापक सदस्य भएर पछि अध्यक्ष समेत भई १० बर्ष कार्यअनुभव बटुलेका निमा हाल सो क्लवका संरक्षण सदस्यको रुपमा रहेका छन् l

यसैगरी ‘भोजपुर शेर्पा किदुक’, ‘मिन्डोल च्याङचुप छेलिङ केन्द्र’, आरुबारी, र ‘शेर्पा सेवा केन्द्र’, टुसालका आजीवन सदस्य रहेका उनी ‘मिन्डोल च्याङचुप छेलिङ केन्द्र’ का हरेक धार्मिक कार्यक्रमहरुमा विगत १० बर्ष भन्दा अघिदेखि स्वयम्सेवकको रुपमा काम गर्दै आईरहेका छन् l विगतमा ‘भोजपुर शेर्पा किदुक’ मा २ बर्ष कार्यसमिति सदस्यको रुपमा रही उनले धार्मिक तथा सामाजिक कार्यमा नि:स्वार्थ सेवा गरेका थिए भने ‘शेर्पा सेवा केन्द्र’ का हरेक कार्यक्रमहरुमा पनि उनी संलग्न रहँदै आएका छन् l आफ्नो कला-संस्कृतिप्रति सधैं चिन्तन गरिरहने सर्जक-कलाकार निमा धार्मिक तथा सामाजिक काम गर्दा असिम आनन्दको महसुस हुने बताउँछन् र यस प्रकारका कार्यलाई आजीवन निरन्तरता दिने कुरा पनि स्पष्ट पार्छन् l