महिलामाथि हुने अत्याचारको यथार्थ कथा म्युजिक भिडिओमा


लामो समयदेखि सङ्गीत र अभिनय कर्ममा क्रियाशील रमेश कडरियाको म्युजिक भिडिओ ‘कठोर’ सार्वजनिक भएको छ । भिडिओमा छोरी मान्छेले घर तथा समाजको पर्दाभित्र भोगेका पीडालाई देखाउन खोजिएको छ । साथै एउटा सामाजिक बिषयबस्तु र गलत मानसिकता भएको पात्र र प्रवृत्तिमाथि खबरदारी गर्दै दिदीबहिनी  तथा आमाहरु अन्यायको बिरोधमा लड्न सिक्नुहोस् भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ ।

गीतकार सबिना श्रेष्ठको शब्दरचनामा रहेको यस गीतमा रमेश कडरियाको सङ्गीत र रचना रिमालको स्वर  रहेको छ भने मुख्य कलाकारमा लक्ष्मी बर्देवा र रमेश कडरिया स्वयम्ले अभिनय गरेका छन् । एउटा नालायक र विवेकहीन पुरुष नारीमाथि कतिसम्म क्रुर हुन सक्छ भन्ने यथार्थपरक कथा बोकेको यो सन्देशमूलक भिडिओले हाम्रै परिवार र समाजभित्र लुकेको अक्षम्य प्रवृत्तिलाई उजागर गर्दै अत्याचारको प्रतिकार गर्न समेत महिलाहरुलाई प्रेरित गरेको छ ।