नरहरि र प्रज्ञाको युगल स्वरमा ‘तिमीलाई नै सम्झिरहन्छु’


अत्यन्तै आशालाग्दी नवप्रतिभा प्रज्ञा अधिकारी नेपाली साङ्गीतिक बजारमा उदाएकी छिन् । पुष्पा पौडेलको शव्दरचना र नरहरि प्रेमीको सङ्गीतमा तयार पारिएको गीत ‘तिमीलाई नै सम्झिरहन्छु’ मा प्रज्ञाले नरहरिसँग युगल गायन गरेकी छिन् । लोकशैलीको भाकामा सङ्गीत तथा प्रस्तुतिकरणका साथै वाद्यवादनको संयोजनले गीतमा केही नयाँपन थपेको महसुस गर्न सकिन्छ । संजय हमालको सङ्गीत संयोजन रहेको यस गीतमा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् । सुर सङ्गीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको बजार व्यवस्थापन भने ‘श्रुति सङ्गीत विद्यालय’ ले गरेको छ ।

Narahari Premee युट्युब च्यानल मार्फत प्रस्तुत यो Soft Romantic गीत निर्माण शैलीका हिसाबले हेर्ने हो भने विशेषगरि नयाँ पुस्तालाई लक्षित गरि तयार पारिएको देखिन्छ । यद्यपि शव्द / सङ्गीतको आधारमा भने सवै उमेरका श्रोताहरुले मन पराउने कुरा अन अनुमान गर्न सकिन्छ ।

सङ्गीतका सबैखाले विधामा उत्तिकै सिपालु गायक तथा सङ्गीतकार नरहरि प्रेमीले यस गीतमा आफ्ना अघिल्ला प्रस्तुतिहरुभन्दा केही पृथकता दिने प्रयास गरेका छन् । दुबै पृथक स्वरको स्वभाव अनुसारले गीतको धुनमा पनि पृथकता दिने प्रयास छर्लङ्ग हुन्छ र यही विशेषताले गीत गायन सहज रुपले बगेको देखिन्छ ।

नेपाली सङ्गीत वृत्तका अत्यन्तै लोकप्रिय वाद्यवाधकहरु रत्न बि.क. को बाँसुरी, मनिष गन्धर्वको सारङ्गी , संजीव बराईलीको गिटार साथै पोषण मगरको मादल आदिको कलात्मक वाद्यसंयोजनले पनि यस गीतमा सुनमा सुगन्ध थपे जसरी काम गरेको छ ।

पछिल्लो थोरै समयकै अन्तरालमा एउटा गुनासो, नरोज माया, कान्हा र पैसोवाला गीतमा आफ्नो सिजर्नात्मक विविधता पस्किसकेका सङ्गीत गुरु नरहरि प्रेमीको आफ्नी नवचेलीसँगको युगल गीत ‘तिमीलाई नै सम्झिरहन्छु’ नेपाली सङ्गीत जगतको नौलो दस्तावेज हुने कुरामा ढुक्क हुन सकिन्छ । गीत समाजसेवी तारा अधिकारीले तयार पारेकी हुन् l