सञ्चारकर्मी अधिकारीको ‘श्वास फेरी’ को भिडिओ सार्वजनिक


सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ को भिडिओ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, सङ्गीत तथा म्युजिक एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको यस गीतको भिडिओ बुधबार राजधानीमा बरिष्ठ सङ्गीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीता अधिकारीको सभापतित्वमा सम्पन्न भएको भिडिओ सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय सङ्ग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार सङ्घका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक तथा सङ्गीतकार योगेशकाजी, साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडिओ पनि त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राखेका थिए ।

राजु गिरी निर्देशन सल्लाहाकार रहेको सो भिडिओमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको छ । भिडिओमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ । यमबहादुर चौधरीको छायाङ्कन रहेको सो भिडिओमा शोखिन तिमिल्सिनाको सम्पादन र सरिता पुरीको शृङ्गार रहेको छ । वियोगान्त भावको सो गीत निक्कै मार्मिक छ भने भिडिओ पनि भाव अनुसार उत्कृष्ट बनेको छ ।

निर्देशक तथा सञ्चारकर्मी माधव खरेलले सहजिकरण गरेको सो कार्यक्रममा मोडल लिगेश भट्टराई, एरेञ्जर तथा सङ्गीतकार राजेन्द्र बजगाईं, गायक तथा सङ्गीतकार सुरज पौडेल, हिमालय टाइम्स दैनिकका उपसम्पादक सन्दीप पौड्याल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

गीता अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई लिएर आफू उत्साहित भएको उनले बताइन् । आफ्ना अन्य गीतले जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनले बताइन् ।

सञ्चार जगतमा सक्रीय रहँदै आएकी गीतकार अधिकारी मिलाप फाउण्डेशन मार्फत पनि विभिन्न सामाजिक कार्यमा सक्रीय छिन् । विभिन्न सञ्चार माध्यामहरुमा समेत काम गर्दै आएकी अधिकारी मिलाप मासिक र मिलाप न्युज डटकमकी कार्यकारी सम्पादक हुन् ।