गीतकार सङ्घको १२ औं बार्षिक साधारण सभा सम्पन्न

-तुलसी गिरी ‘भावुक’


समग्र गीतकारहरुको छाता सङ्गठन ‘गीतकार सङ्घ नेपाल’ को बाह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ l सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्व एवं ‘सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’ का कूलपति नारायणभक्त श्रेष्ठ ( रायन ) को प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा अग्रज गीतकार राजेन्द्र थापा, डा. भोला रिजाल, विश्वबल्लभ, एस्पी कोईराला, नेपाल प्रतिलिपि अधिकार अजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार विष्णु कुमारी फुयाँल, सङ्घका पूर्व अध्यक्षहरु योगेन्द्रमणि दाहाल, चूडामणि देवकोटा, कार्यसमिति सदस्यहरु लगायत गीत-सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो l  कार्यक्रम शनिबार जमलस्थित राष्ट्रिय नाचघरको मिनी हलमा आयोजना भएको हो l

कार्यक्रममा सङ्घका महासचिव रमेश कोईरालाले साङ्गठनिक प्रदिवेदन प्रस्तुत गर्दै सङ्घले गरेका बार्षिक कार्यक्रमहरुको बारेमा विस्तृतमा रुपमा प्रकाश पारेका थिए l महासचिव कोईरालाको प्रतिवेदनमा वर्तमान कार्यसमितिले गत आर्थिक बर्षबाटै विधिवत ‘गीतकार उपचार कोष’ को स्थापना गरेको कुरा समेत उल्लेख गरिएको छ l कोषमा रकम जम्मा हुने क्रम जारी रहेको थाहा भएको छ l यसैगरी समारोहमा सङ्घका कोषाध्यक्ष जे. बी. समयोगीले आर्थिक बर्ष २०७७/२०७८ को आर्थिक आयव्यय प्रतिवेदन पेश गरेका थिए l दुवै प्रतिवेदन सभाले अनुमोदन गरेको छ l

समारोहमा प्रमुख अतिथि नारायणभक्त श्रेष्ठ ‘रायन’ ले सङ्घको नयाँ वेभसाइटको शुभारम्भ समेत गरेका थिए l सङ्घले यसअघि नै वेभसाइट सञ्चालनमा ल्याएको भएपनि सो साइटमा समस्या आएका कारण नयाँ साइट बनाईएको कुरा सङ्घले जानकारी गराएको छ l कार्यक्रमको सहजीकरण सङ्घका महासचिव रमेश कोईरालाले गरेका थिए l