म्यूजिक खबरको सम्मान तथा पुरस्कार घोषणा


‘नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१’ मा वरिष्ठ गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’ अर्पण गरिने भएको छ । पोहोर साल खुशी फाट्दा, पर लैजाऊ फूलहरु, क्या दामी भो, याद गर्न पनि, गाला रातै, पहिलो नम्बरमा लगायतका सयौं सदाबहार गीतका स्रष्टा वरिष्ठ गीतकार राजेन्द्र थापालाई यस वर्षको ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गर्न लागिएको हो ।

त्यसैगरी यस वर्षको ‘म्यूजिक खबर डायस्पोरा सङ्गीत’ सम्मान गायक रामप्रसाद खनाललाई अर्पण गरिने भएको छ । गायक खनाल लोकदोहोरीको क्षेत्रमा प्रवर्द्धकका रुपमा चिनिन्छन् । उनी दोहोरी प्रतिस्पर्धालाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने गायकका रुपमा परिचित छन् । तीन दशकअघिदेखि गीत-सङ्गीतमा क्रियाशील रहेका खनालका चार दर्जन गीति एल्बम बजारमा आइसकेका छन् भने फुटकर गीतहरु पनि प्रकाशित भएका छन् । उनले नेपाल टेलिभिजनबाट दोहोरीलाई सबै नेपाली सामु पुर्‍याउन सफल भएका थिए भने उनी पत्रकारिता, गायन् र लेखन कार्यमा पनि उत्तिकै क्रियाशील छन् । उनी केहीबर्ष यता अमेरिकामा रहेर नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् भने अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्ष समेत रहेर जिम्मेवारीपूर्ण कार्य गरिरहेका छन् ।

त्यसैगरी यस वर्षको ‘म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार वरिष्ठ रङ्गपत्रकार विदुर गिरीलाई अर्पण गरिन लागिएको छ । उनले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको समाचार सम्पादक र कामना सिनेमा मासिक पत्रिकाको सम्पादकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

वि.सं. २०४७ सालमा साप्ताहिक गतिविधिमा नाटक, चलचित्र, टेलिचलचित्र, भिडियो चलचित्र, सांस्कृतिक गतिविधि, फेशन, गीत सङ्गीत लगायतको मनोरन्जन क्षेत्रलाई विषय बनाई स्तम्भ लेखन सुरु गरेका विदुर गिरी हालसम्म पनि पत्रकारितामा निरन्तर क्रियाशील रहेका छन् ।

उनले वि.सं. २०४९ सालदेखि २०५३ सालसम्म सिने मासिक कामनामा संवाददाता हुँदै कार्यकारी सम्पादकको रुपमा कार्य सम्पादन गरेका थिए । त्यस्तै वि.सं. २०५३ सालमा सिने मासिक पत्रिका फिल्म सपोर्ट र गीताञ्जली मनोरञ्जन पत्रिकाको सम्पादन गरेका थिए भने वि.सं. २०५३ देखि ०५६ सालसम्म नेपाल टेलिभिजनको साप्ताहिक सिने कार्यक्रम सिने लहरमा विशेष प्रतिनिधि तथा सल्लाहकारका रुपमा कार्य सम्पादन गरेका थिए । वि.सं. २०५६ सालमा आफ्नै प्रकाशन र सम्पादनमा सिने मासिक सिने क्वीनको प्रकाशन समेत गरेका थिए भने वि.सं. ०५७ सालमा नयाँ सडक दैनिक, पत्रिका सातदिने लगायतका पत्रपत्रिकामा लेखन तथा रिपोर्टिङ कार्य गरी पत्रकारितालाई निरन्तरता दिएका थिए ।

त्यसैगरी उनलेले वि.सं. ०५८ सालमा स्पेशटाइम दैनिकमा रही सयपत्री नामक मनोरन्जन पृष्ठको सम्पादन र रिपोर्टिङ कार्यको जिम्मेवारी सम्हालेका थिए । वि.सं. २०६१ देखि २०६३ तथा २०६७ देखि २०७० चैत ६ गतेसम्म चलचित्र पत्रकार सङ्घको दुई कार्यकाल अध्यक्ष रही नेपाली मनोरञ्जन जगतमा लागेका पत्रकारहरुको छाता संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

यतिबेला वरिष्ठ पत्रकार विदूर गिरीले नेपाल समाचारपत्रको समाचार सम्पादक र सिने मासिक कामनाको सम्पादकको जिम्मेवारी सम्हाल्दै आएका छन् भने नेपाल पत्रकार महासंघ, केन्द्रिय परिषदको सदस्य समेत रहेर सांगठनिक भूमिका निर्वाह गरिरहेका छन् ।

त्यस्तै गायक हेमन्त शर्मा र गायिका सीता थापालाई यस वर्षको ‘म्यूजिक खबर दशकको स्रष्टा सम्मान’ अर्पण गरिने भएको छ । गायक हेमन्त शर्मा दुई दशक लामो समयदेखि गीत सङ्गीत क्षेत्रमा क्रियाशील रहेका छन् । ‘मुटुभित्र गुन्जिरहन्छ तिम्रो नाम’ गीतबाट साङ्गीतिक क्षेत्रमा पाइला चालेका शर्माले अंकुरण समूह हुँदै काठमाडौं सम्मको यात्रामा सयौं गीतहरुमा स्वर भरिसकेका छन् । उनका ओ प्रिय, माया साह्रै महंगो, थाप न थाप, आउँदै गर मालती, मूल हौ भने रसाइदेउ लगायतका गीतहरु चर्चाको शिखरमा छन् ।

त्यस्तै गायिका सीता थापा काँठ क्षेत्रको साङ्गीतिक इतिहास बोकेकी गायिका हुन् । उनले गाएका लोकदोहोरी, काँठे तथा पूर्वेली गीत, चलचित्र गीत लगायतका गीतले  उनको गायकीलाई उचाइमा पुर्‍याउन सफल भएको हो । उनको स्वरमा रहेको काँचो ओखर, नयाँ बानेश्वर, काठमाडौं सिंहदरबार, गालैमा रै’छ डण्डीफोर, ऊनीको पछ्यौरी, खानीखोला, दुई रुपैयाँको बिंडी, घर हाम्रो रापेछाप, मोरालाई पड्काइदिन्छु सौताको छोरालाई, सिन्धुली बर्दिबास, घुम्तीमा पहिरो छ लगायत रहेका छन् ।

त्यसैगरी यस वर्षको युवा प्रतिभा सङ्गीत सम्मान गायक राजु ढकाललाई अर्पण गरिने भएको छ । गायक राजु ढकाल विगत दुई दशकदेखि गीत सङ्गीत क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनको स्वरमा रहेका वर्ष दिन भो, लौरी हरायो, दुई बिसेले छोयो, पिरतीको इतिहास, नहाँसी नहुने, तिम्रै माया लाग्छ सानु, के गरेर हो लगायत सयौं गीतहरु बजारमा आइसकेका छन् । गायन र मोडलिङ सँगसँगै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कोषाध्यक्ष पदमा रहेर साङ्गठनिक जिम्मेवारी पनि सम्हालिरहेका छन् ।

त्यसैगरी यस वर्षको ‘बाल प्रतिभा प्रोत्साहन सम्मान’ बाल गायिका सफलता श्रेष्ठलाई अर्पण गर्न लागिएको छ । गायिका श्रेष्ठ पछिल्लो समयमा गायनका माध्यमले अगाडि बढिरहेकी छिन् । सानै उमेरमा उनले गायनमा राखेको रुचि र स्वरका माध्यमले यस क्षेत्रमा अगाडि बढाएको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले म्यूजिक खबरले उनलाई सम्मान गर्न लागेको हो । उनको स्वरमा रहेको ‘म हुँ नेपाली’ लगायतका केही बाल गीतहरु बजारमा आएका छन् ।