‘अमर बान्तु काव्य साँझ’ सम्पन्न



पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो-


फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।

नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनासाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना के.सी. । त्यसपछि, अमर बान्तु काव्य साँझ को औपचारिक आरम्भ भयो । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्ज्जलन गरी कार्यक्रमको समुद्घाटन गरे ।

समुद्घाटनपछि कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पारे । उनले भने- ‘माझ किराँतको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा-नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा यस सुन्दर धरतीमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ ।’ उनले थपे- ‘काव्य-नायक अमर बान्तुका बारेमा केही बोल्ने प्रयत्न गर्नु भनेको सूर्यको अघि बत्ती देखाउनुजस्तो मात्रै हो । म यहाँ त्यही सूर्यलाई बत्ती देखाइरहेको छु । बत्ती देखाउनु भनेको पूजा गर्नु हो, अर्थात् अभिनन्दन गर्नु हो । स्रष्टा बान्तुलाई सादर अभिनन्दन गर्दछु ।’

त्यसपछि कवि अमर बान्तुलाई कार्यक्रम सञ्चालिकाले कविता/काव्य प्रस्तुतिका लागि मञ्चमा निम्त्याइन् । हँसिलो र फुर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरे-

मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एकतर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।

मिलाप मासिकले आयोजना गरेको सो काव्य साँझमा करिब एक घण्टाको समयमा स्रष्टा बान्तुले होची मिन्हपोलपोट शीर्षकका कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे । त्यसपछि उनले गजल सुनाए- नजरैले घाइते पार्न माहिर हजुर । प्रेमिल गजलबाट माहोललाई नै प्रेमिल बनाएका उनले मनको भावना सुनाए गजलमै । त्यसपछि आफ्नै जिन्दगीकाबारे रचना गरिएको गजल- ए जिन्दगी सुनाएर उनले माहोललाई नै स्तब्ध बनाए । अन्त्यमा घरबेटीचोकमा गफिनेहरू को गजल सुनाएर कविता/काव्य प्रस्तुतिको मैझारो गरे । दर्शकदीर्घाबाट आएको ‘वान्समोर…वान्समोर’लाई स्वीकार गर्दै पुनः सुनाए- ‘मेरी प्रिय कविता ।’

प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताए । उनले साहित्य साधनाका साथै व्यवसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गरे । उनले भने- ‘बान्तुजीका रचनाहरू जस्तै उहाँमा कविता कण्ठस्त सुनाउने कला पनि बेजोड रहेछ । यो कवितालाई लोकप्रिय बनाउने सन्दर्भमा नयाँ र अनुकरणीय कुरा हो ।’

मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पूर्व मन्त्री तथा कवि एस्पी कोइराला र  लायन्स क्बलका तर्फबाट लायन अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सृजनाको कामना गरे । कार्यक्रममा बान्तुलाई मिलाप सम्मान अर्पण गरिएको थियो ।

काव्य साँझलाई माई पे, सुनकोशी कन्स्ट्रक्सन प्रा.लि, ५ नं. वडा ललितपुर महानगरपालिका, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आई, लायन्स क्लब अफ काठमाडौं, अन्नपूर्ण, लायन्स क्लब आफ आङ्ग्ना, पाँचथर, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल सर्भिस र लायन्स क्लब अफ काठमाडौं, शुभम् तथा लायन्स हरि दाहाल, चाटर प्रेसिडेन्ट लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आईले प्रयोजन गरेका थिए ।

अमर बान्तुको कविता तथा गीतसङ्ग्रह परिभाषाका राँटाहरू  र उत्कृष्ट गीतहरूका दुई एल्बम अमर भावनाअमर भावना-२ प्रकाशित छन् भने उनका धेरै गीत स्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् ।