धरानेहरुलाई तताए रविन एण्ड द न्यु रेभुलुसनले


कोभिड महामारीपछि साढे दुई बर्षपछि आयोजना भएको  ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’ मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुति दिएर  चिसो मौसममा धराने दर्शकहरुलाई तताए।

धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित सो कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै  नेपाल – नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीतबाट कन्सर्ट सुरु गरेका थिए ।  ४ बर्ष पछि धरान- कन्सर्टमा आएका  रबिनले  भेटें मैले शिवजी, केटाकेटी पहिलो नाम , जति माया लाएपनि, चिसो चिसो हावा,  दम मारो दम  लगायत का करिब १ दर्जन गीतहरु गाएर धरानेहरुलाई फेरि पनि आफ्नो तालमा नचाए ।

पुषको जाडो भएपनि हजारौं  दर्शकहरु रबिन एण्ड न्यू रेभुलुसनको गीतमा पुरा मनोरञ्जन लिईरहेको देख्न सकिन्थ्यो। रबिन एण्ड न्यू रेभुलुसनबाट गायक  रबिन तामाङ संगै प्रविन दास श्रेष्ठ ,हरि कृष्ण महर्जन र बिजय विश्वकर्मा  स्टेज ओर्लिएका थिए। 

कोभीड पछिको आफ्नो पहिलो ओपन कन्सर्ट भएको बताउंदै गायक तामाले सबैलाई सेफ्टीको लागि मास्क ,सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे। 

टुबोर्ग मेगा लाईभ कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसन सँगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए। गायिका हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेनमा पुगेर चर्चामा आएकी गायिका हुन्।  उनको प्रस्तुतिले   पनि दर्शकहरुबाट निकै प्रशंसा पाएको थियो। त्यस्तै  फ्री बर्ड्स ब्याण्डले  समेत गीतहरु गाएको  थियो । सुन्दर साउण्ड सर्भिस, धरानको साउण्ड -लाइट पनि उत्कृस्ट रहेको थियो। कन्सर्टको सञ्चालन गोबिन्द राजभण्डारीले गरेका थिए।