नेपाली मूलका गायक कर्टिस वाटर्सले पाउने भए RIAA गोल्ड अवार्ड


Recording Industry Association of America (RIAA) ले एक विज्ञप्ति जारी गरी सन् २०२१ मा गोल्ड तथा प्लाटिनम अवार्ड पाउने कलाकारहरूको नाम घोषणा गरेको छ । यसबर्ष RIAA अवार्डमा ४३ जना नयाँ कलाकारहरूको नाम घोषणा भएको छ । यस मध्ये नेपाली मूलका चर्चित गायक कर्टिस वाटर्स (अभि बस्ताकोटी) पनि परेका छन् । उनलाई चर्चित गीत ‘स्टानिन’ का लागि यस बर्षको RIAA Gold Award प्राप्त हुने भएको हो ।

RIAA का अध्यक्ष तथा सीइओ मिच ग्ल्याजियरले यो अवार्ड पाउने सङ्गीतकर्मीहरूको भूमिका सङ्गीतको सिर्जनशील तथा व्यावसायिक क्षेत्रमा उल्लेख्य रहेको बताउँदै पुरस्कृत प्रतिभाहरुलाई सङ्गीतको अति विशिष्ट श्रेणी प्रतिभाहरूको समूहमा स्वागत गरेका छन् ।

स्रोतका अनुसार यो अवार्डका लागि स्रोता / दर्शकको माग, प्रसारण संख्या, विक्री वितरण लगायत अत्यन्त उच्च स्तरको मापदण्ड रहेको र यसमा पुरस्कृत हुनु भनेको संसारकै उच्च स्तरको कलाकारको रुपमा दर्ज हुनु हो भन्ने विश्वास गरिन्छ ।

Recording Industry Association of America (RIAA) सङ्गीतको प्रवर्धनमा समर्पित व्यावसायिक संस्था हो । संसारका सङ्गीत व्यवसायमा संलग्न र प्रसिद्ध कलाकारहरुसँग कार्यरत महत्वपूर्ण सङ्गीत व्यवसायी संस्थाहरू यसका सदस्य छन् । अमेरिकाको नर्थ क्यारोलाइना निवासी २१ बर्षीय कर्टिस वाटर्सको ‘स्टनिन’ गीत उनको  ‘पिटीपार्टी’ एल्बममा समावेश छ ।

बि. एम. जी. नामको अन्तर्राष्ट्रिय रेकर्ड लेवलले वजारमा ल्याएको यो गीत हालसम्म एक अर्व भन्दा बढी पटक विभिन्न माध्यमबाट प्रवाहित भइसकेको छ । ‘स्टनिन’ का लागि कर्टिसले क्यानडा डबल प्लाटिनम, अस्ट्रेलिया प्लाटिनम, ब्राजिल प्लाटिनम, म्याक्सिको गोल्ड, इन्डिया गोल्ड, न्युजिल्याण्ड गोल्ड, अमेरिका गोल्ड सर्टिफिकेट लगायतका  सर्टिफिकेटहरू पाइसकेका छन् । यसक़ा साथै उनी २०२१ को क्यानडाको प्रसिद्ध जूनो अवार्डमा पनि तीन विभिन्न विधामा छनोटमा परेका थिए ।

SUBSCRIBE 👉