‘ठेटगीत साम्राज्ञी’ को प्रेरणादायी सङ्घर्ष कथा

सुमन श्रापित, पोखरा


वरिपरि भीरैभीर बीचमा गुजुमुज्ज परेको सुन्दर गाउँ । हाल बाग्लुङ जिल्लाको बा.न.पा.-११, रायडाँडाको शिखादीप भन्ने गाउँ हो यो । यही गाउँमा आमा कली विक र बाबा जंगबहादुर बिकको कोखबाट बि.सं. २००२ साल पौष २१ गतेका दिन पवित्रा रसाइलीको जन्म भएको थियो । यही अनकन्टार भिर पाखामा पवित्रा रसाईली हुर्केकी थिइन् र आफ्नो सुमधुर स्वरलहरी गुञ्जाएकी थिइन् ।

बाल्यकालदेखि नै अत्यन्तै सुमधुर स्वर भएकी, हँसिली रसिली र सबैप्रति मिलनसार अनि सहयोगी भावनाकी पबित्रा त्यो बेला गाउँमा निकै लोकप्रिय थिइन् । हरेक मेलापर्व, तीज, रत्यौली, भजन आदि कार्यक्रमहरु पवित्राको उपस्थिति बिना खल्लो हुन्थ्यो । कुनै पहुँच र अवसर मिलेका भए एउटा अब्बल गायिकाको रुपमा सायद उतिबेला नै उनी स्थापित हुने थिइन् ।

स्कुलमा औपचारिक शिक्षा लिन नपाएपनि यिनै भीरहरुले र यही गाउँको वातावरणले पवित्रालाई धेरै कुरा सिकाए । सोही गाउँ नजिकै भकुण्डे गाउँका रामलाल रसाइलीसँग २०१९ माघ २९ गतेका दिन पवित्राको विवाह भएको थियो । जब पवित्रा बुहारीमा परिणत भइन् उनका कलाहरु पहिलेजस्तो प्रस्फुटन हुन पाएनन् । घरायसी कामधन्दा र क्रमश: जन्मेका ८ सन्तानको लालनपालनमा रुमल्लिंदै गर्दा जीवन केही कष्टपूर्ण हुन पुग्यो ।

श्रीमानको पुर्ख्यौली आरानको पेशा, बालीघरे प्रथा, ठूलो परिवार, भीर पाखामा सामान्य जग्गा जमिन र खेतीपाती । सोझै अनुमान गर्न सकिन्छ जीवन कति सङ्घर्षमय थियोहोला । त्यसैमाथि उनको जीवनमा अर्को बज्रपात आइलाग्यो २०५० सालमा अल्पायुमै उनका श्रीमान रामलाल रसाइलीको स्वर्गबास भयो । अकस्मात भएको यस घटनाले उनको परिवारमा ठूलो बज्रपात भयो । लालाबाला हुर्काउन, पढाउन, बढाउन उनले थप सङ्घर्ष गर्नुपर्यो । अत्यन्तै हिम्मतवाली र आत्मबल भएकी पवित्राले जीवनमा कतिपनि हार नखाई सबै छोराछोरीलाई आजको यो दिनसम्म र यो स्थानसम्म पुर्याउन सफल भइन् । उनी सङ्घर्ष, साहस र ममताकी पर्याय हुन् । उनी नारी जातिकै लागि आफैंमा एक प्रेरणादायी जिउँदो कथा समेत हुन् । उनको जीवनकथा करुणाले भरिएको कुनै बेजोड काल्पनिक कथा जस्तो छ । तथापि उनमा कर्तव्यपरायणता कहिल्यै डग्मगाएन l। जसको सुखद् परिणामस्वरूप आज नेपाली सङ्गीत क्षेत्रलाई हराभरा बनाउनमा उनका सन्तानको अतुलनीय योगदान रहेको छ ।

उनका माइला छोरा बी. बी. अनुरागी बहुआयामिक सङ्गीतकर्मी धुन सम्राटको उपाधिले विभूषित छन् । अनि कान्छा छोरा श्यामश्वेत रसाइली नेपालकै गिनेचुने ध्वनि इन्जिनियरको रुपमा प्रख्यात छन् । कान्छी छोरी स्वरुपा लोकप्रिय गायिका अनि जेठा छोरा सुकुराम पनि सङ्गीतकर्ममा नै क्रियाशील छन् ।

यतिधेरै सङ्घर्षका बाबजुद पनि उनको गायन प्रतिभा कहिल्यै रोकिएन l। उमेरले नेटो काटेपनि जोश जाँगर र कला-गलाले कहिल्यै नेटो काटेन । बीचबीचमा उनका केही एल्बमहरु अनि फुटकर गीतहरु पनि आइरहे । २०६३ सालमा वरिष्ठ गायक नारायण रायमाझीसँग निकालेको गीति एल्बम ‘बग्ने खोला हो’,  त्यसैगरी ‘तिरी पासा खरर’ बोलका अत्यन्तै ठेट तीजगीत पनि निकै चर्चामा रहे । त्यसैगरी लोपोन्मुख ठेट भाकाहरु यानीमाया, सुनियामा, साईलो भाका, लस्के भाका, ठाडो भाका जस्तै हाम्रा मौलिक गीतहरु पनि उनले रेकर्ड गराएकी छिन् । यस्ता टिपिकल लोक भाकाको उनमा अथाह अनुभव र ज्ञान छ । उनले आफ्नै छोरा बी. बी. अनुरागीसँग गाएका दोहोरी गीतहरु ‘टहटह जुनले’ र ‘साडी मलमल’ पनि निकै चर्चामा रहेको छ भने पछिल्लो एल्बम ‘उहिले उहिलेको तीज’ ले त साङ्गीतिक बजार नै तताई रहेको छ । जुन गीतले हाम्रा लोप हुनै लागेका शव्दहरु र भाकाहरुलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाउन सफल भएको छ ।

ठेट गीत गायन मार्फत नेपाली गीत सङ्गीतको जगेर्नामा अतुलनीय योगदान पुर्याएकी पबित्रा रसाइली हालै ‘पुष्पाञ्जली  स्टुडियो पोखरा’ले आयोजना गरेको ‘नेशनल गण्डकी म्युजिक अवार्ड-२०७८’ मा ‘ठेट गीत साम्राज्ञी’ उपाधि सहित सम्मानित भएकी छिन् । यो उमेरमा पनि उत्तिकै जोश जाँगरका साथ उनले नेपाली गीत सङ्गीत क्षेत्रमा ठेट लोक गायन मार्फत जुन योगदान पुर्याएकी छिन् त्यसको सही कदर भएको भन्दै आम कलाकार र कलाप्रेमीहरुले खुशी ब्यक्त गरेका छन् । पवित्रा रसाईलीको सही मूल्याङ्कन र कदर भएकोमा उनलाई नजिकबाट चिन्नेहरू हर्षित छन् ।