पुरानो ग्रामिण परम्पराको झल्को दिने भिडिओ ‘कचहरी’

-प्रकाश सुवेदी


लामो समयदेखि जापानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका गुल्मीका गायक दीपक खत्रीको स्वरमा `बेहुला बेहुली बनेर लाउने बेला नचरी, बस्नु पर्यो कचहरी´ बोलको रोइला गीतको भिडिओ सार्वजनिक भएको छ । वैकुण्ठ महतको लय / शब्द रहेको यस गीतमा दीपकलाई सुनिता बुढाले गायनमा साथ दिएकी छिन् ।

पूर्व समयमा गाउँमा कोही अन्यायमा पर्यो अथवा कसैले केही गल्ति गर्यो भने कचहरी बस्ने चलन हुन्थ्यो । एक अर्थमा भन्दा कचहरी भनेको गाउँका लागि न्यायलय जस्तै मानिन्थ्यो । तुओ बेला गाउँका गन्नेमान्नेहरुले गरेको निर्णयलाई नै आधिकारिक मान्ने चलन हुन्थ्यो l  प्रस्तुत गीतमा सर्जक वैकुण्ठ महतले क्याम्पस पढ्दै गरेका २ किशोर किशोरी प्रेममा बाँधिएको र अन्तत: उनीहरुको सम्बन्ध गाउँमा समेत थाहा भएर कचहरी बसेको कथा जोडेका छन् ।

जसरी पाइलटसँग विमान सँगै हुन्छ त्यसरी नै पवित्र माया गर्नेहरु अलग हुन नसक्ने यथार्थलाई गीत मार्फत दर्शाउन खोजिएको छ । अजय रेग्मीको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन र कुमार केसीको निर्देशन रहेको यस गीति भिडिओमा लोमस शर्मा र करिश्मा दाहाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।