मौलिक गीत सङ्गीतका पुजारी : शिव सङ्गीत

-तुलसी गिरी ‘भावुक’


विशेषगरी नेपाली लोक परम्परामा आधारित टिपिकल तथा मौलिक गीतहरु गाएर सङ्गीत क्षेत्रमा विशिष्ट पहिचान स्थापित गरेका गायक / सङ्गीतकार शिव सङ्गीत केहीबर्ष यता राजधानीमा बसेर आफ्नो कलाकारितालाई अगाडि बढाईरहेका छन् l मध्य तथा सुदूरपश्चिमको लोकप्रिय भाका झ्याउरे गीत गायनमा उनको मुकाबला गर्ने गायक विरलै भेटिन्छन् l उनी फाष्ट गीतका गीत उत्तिक्कै सहजता त मिठासपूर्ण गलाले भाका हाल्छन् l त्यसो त मौलिक तथा लोक परम्परामै आधारित सिंगारु भाकाका गीत गायनमा पनि उनी त्यत्तिकै लोकप्रिय छन् l

हाम्रै समाजको मौलिक संस्कृति झल्कने सामाजिक एवं यथार्थपरक गीत सङ्गीतलाई प्राथमिकतामा राख्दै आएका शिवले सामाजिक जागरणका लागि थुप्रै जनचेतनामूलक, महिला, बालबालिका र उत्पीडित वर्गका गीतहरु, विकृति-विसङ्गति विरुद्धका गीतहरु, दुर्व्यबहार र दुर्व्यसन विरुद्धका गीतहरु र विकाश निमार्णमा युवाहरुलाई अगाढि वढाउने उत्प्रेरक भाव भएका गीतहरु पनि गाएका छन् l विभिन्न सार्वजनिक समारोह, बिहे, पार्टी र चाडबाडको माहोल लगायत साँस्कृतिक कार्यक्रमहरुमा नाच्नका लागि उनकै गीत घन्काईन्छन् l मौलिक लोकगीत सङ्गीतको प्रवर्धन, संरक्षण र प्रचार – प्रसारको मूल उद्देश्य राखी सङ्गीतलाई नै जीवनको मूल कर्म बनाएर निरन्तर साधनारत शिव सङ्गीत कलाकारिताको जेनिटिक गुण भएका एक होनहार प्रतिभा हुन् l

गायन उनको मुख्य विधा हो भने उनले केही गीतमा सङ्गीत समेत दिएका छन् l सुर्खेतको वीरेन्द्रनगर ८ स्थायी घर भएका शिव २०५५ सालमा रेडियो नेपालद्वारा आयोजित अधिराज्यव्यापी राष्ट्रिय बालगीत सम्मेलनमा तृतीय विजेता भएका थिए । त्यो बेला उनको उमेर ९ बर्ष मात्र थियो l ‘गीत-सङ्गीतमा मेरो औपचारिक यात्रा त्यही बेलादेखि सुरु भएको हो । त्यसपछि विद्यालयस्तरीय, क्षेत्रीय, जिल्लास्तरीय तथा रष्ट्रियस्तरका प्रतियोगिताहरुमा थुप्रैपटक उत्कृष्ट स्थान हासिल गरिसकेको छु’ उनी विगत सम्झँदै भन्छन् । शिव सङ्गीतलाई गीत-सङ्गीतमा लाग्न र अगाडि बढ्नका लागि अभिभावकहरुको साथ, समर्थन र प्रेरणाको पनि अहम् भूमिका रहेको छ l उनका बुबा कुलमान नेपाली राष्ट्रियस्तरका नृत्य निर्देशक भएको कारणले पनि बुबाको छत्रछाया र मार्गनिर्देशनले उनलाई सधैं उत्साहित बनाईरह्यो l कुलमान नेपालीले व्यावसायिक रुपमा सफल मानिएका ठूलो पर्दाका चलचित्र ‘बन्धकी’, ‘बाटुली’ र ‘गोर्खा पल्टन’ मा नृत्य निर्देशन गर्नुभएको छ l

विभिन्न सङ्घ संस्थाहरुले आयोजना गरेका प्रतियोगिता तथा मेला महोत्सवहरुमा सहभागी भई पर्याप्त अनुभव बटुलिसकेपछि ‘हातमा बाला’ बोलको गीत रेकर्ड गरी २०६७ सालबाट उनले व्यावसायिक रुपमा गीति एल्बमहरु प्रकाशन गर्न थालेका हुन् l ‘२०६७ पछि निरन्तर रुपमा आफनो सङ्कलन, स्वर तथा सङ्गीत रहेका गीतहरु प्रकाशन गरिरहेको छु । विषेश गरेर विभिन्न नेपाली चाडपर्व, विवाह, उत्सव र साँस्कृतिक कार्यक्रमहरुमा आफ्ना गीत बज्दा र त्यसैमा मानिसहरु नाचेको देख्दा निकै आनन्द आउँदो रैछ’ उनी खुशी हुँदै भन्छन् । १ सय २० भन्दा बढी गीत बजारमा ल्याईसकेका शिवका नाचिदेऊ रामरी’, आँखामा जुध्यो, वनमा चरी, घर काँ हो नानीको, हातमा वाला सोल्टिना, घन्काइदेऊ मादलु , धारा पँधेरो, तिम्रो नजरमै जादु लगायतका गीतहरु सर्वाधिक लोकप्रिय छन् ।

उनले २०६१ सालमा शिक्षा तथा खेलकूद मन्त्रालय, पाठ्यक्रम विकाश केन्द्र, सानोठिमी, भक्तपूरद्वारा आयोजित ‘राष्ट्रव्यापी लोकगीत प्रतियोगिता’ मा प्रथम स्थान हासिल गरेका थिए l यसैगरी उनले ‘राष्ट्रिय इपिक म्युजिक अवार्ड २०७५’ मा उत्कृष्ट लोकगायक र ‘पव्लिक च्वायस तथा स्टार इन्टरनेशनल अवार्ड २०१९’ मा उत्कृष्ट युगल लोकगायक { जुरी अवार्ड } को अवार्ड समेत प्राप्त गरेका छन् l ‘पव्लिक च्वायस तथा स्टार इन्टरनेशनल अवार्ड २०१९’ भने कतारमा आयोजना भएको थियो । त्यस्तै वातावरण – पर्यावरण सम्वन्धी गीतमा सहभागी भए वापत उनले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को अवार्ड समेत प्राप्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित सेवा सङ्घ,जिल्ला विकास समिति सुर्खेत,भीम बहादुर कार्की गायन पुरस्कार लगायत थुप्रै सामाजिक एवं साँस्कृतिक सङ्घ संस्थाहरुबाट उनले सम्मानपत्र र प्रशंसापत्रहरु प्राप्त गरेका छन् ।

नेपाली कला र संस्कृतिको खोज – अनुसन्धान र त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउने उद्देश्य बोकेका शिव मौलिकता वोकेको गीत सङ्गीतलाई बढी प्राथमिकता दिँदै निरन्तर सङ्गीत यात्रामा लागिरहने प्रण गर्छन् । ‘कल्चर नेपाल नेटवर्क’ नामक म्युजिक कम्पनीका प्रवन्ध निर्देशक समेत रहेका शिव देशैभर यस कम्पनीको सञ्जाल विस्तार गरी लोपोन्मुख नेपाली साँस्कृतिक वाजा, गीत र भेषभूषाको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्नको लागि पनि काम गरिरहेका छन् ।