राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आवश्यकता

-डा. डी. आर. उपाध्याय


आज मुलुकका सामु थुप्रै समस्या तेर्सिएका छन । समस्या समाधान गर्ने कुरामा कसैको ध्यान छैन । नेताहरुलाई खाली आफनै स्वार्थ पुरा गर्ने ध्यान मात्र छ । जनताको कुनै मतलव छैन । आज आम नागरिक निराश छन । अब दशै पनि नजिकै आइसकेको छ । दशै खर्च जुटाउन नसकेर सर्वसाधरण नागरिक चिन्तित छन । लामो समय सम्मको कोरोना भाइरस र त्यसवाट उत्पन्न समस्याबाट थिलै थिलो बनेका आम नागरिक अझै पुरानो अबस्थामा फर्कन सकिरहेका छैनन् । धेरैका रोजगार गुमेका छन । अझै पुरानो अबस्थामा फर्कन समय लाग्छ । जनताको आबश्यकताहरु झन पछि झन बढदै गएका छन ।

महंगीले आकाश छुन थाल्यो । जनता कसरी बाँचेका छन न सरकारले मतलव राखेको छ नत राजनीतिक दल र तिनका नेताहरुले नै । जनता समस्या संग जुधिरहेका छन । राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबे । समस्या त यो हो नी । जसरी हुन्छ आफै सत्तामा जाने दाउ मात्र नेताहरुले खेलिरहेका छन । हिजो पनि त्यहि अबस्था थियो आज पनि त्यहि अबस्था छ । नेतामा सुधार गर्ने भन्ने कुरा पटक्कै आएन । हरेक पार्टीहरूमा संगठन चलाउन अनुशासन चाहिन्छ, कुनै दलमा पनि अनुशासन छैन । त्यहि भएर देश बिग्रिएको हो ।

देश बनाउने सोच कुनै पनि नेतामा पाइएन । अनि हामी कसरी अघि बढछौं । अनुशासन नहुदा दलहरु आफै कमजोर हुदै गएका छन । त्यो कुरामा कसैको हेक्का छैन । अनुशासनमा कोही बस्न खोज्दैनन् । यसले राजनीतिक संस्कार निर्माण हुन सकेको छैन । राजनीतिक दलका नेताहरूमा नेतृत्व क्षमता भएन । राजनीतिक दर्शनबाट निर्देशित हुन सकेनन् । धेरै मानिस राजनीतिक दलप्रति आकर्षित हुन छाडेका छन । कारण के हो भने दल र तिनका नेताहरु बेइमान भए । जनतालाई ढाँटे । आफै धन सम्पति थुपारे । देशलाई खोक्रो बनाए । देशका सामु यति धेरै समस्या छन तर ति समस्या प्रति उनीहरु गम्भिर भएनन् ।

नेताहरुले पार्टीलाइ सहि ढंगले चलाउन सकेनन । हरेक पाटीमा समस्यै समस्या छ । यसले गर्दा राजनीतिक दलमा लाग्नेहरू ज्यादै व्यक्तिवादी बन्दै गए । यसरी राजनीतिक दलहरु चल्दैनन् । संविधान, ऐन, कानुनको परिधिभित्र रहेर कुनै दलले काम गर्न सकेनन् । नेताहरूबीच ‘इगो’, बढदै गयो । त्यसले गर्दा नै दलहरू फुट्छन् । नेतृत्वले सिद्धान्त, अनुशासन, देश र जनतासँग गरेका प्रतिबद्धताको बेवास्ता गर्दै आएका छन । व्यक्तिवादी ढंगले अगाडि बढ्न खोजेका छन ।

अहिले नेताहरू सिद्धान्तप्रति नै प्रतिबद्ध भएनन् । पार्टीहरूसँग अहिले सिद्धान्त नै छैन भने पनि हुन्छ । अहिले कुन दल संग के सिद्धान्त छ ? अहिले उनीहरु भ्रष्ट र विकृत अवस्थामा पुगेका छन् । बोलेका कुरा व्यवहारमा केही पनि लागु भएन । ब्यक्तिगत स्वार्थका लागि राजनीति भयो । नेतृत्वको खालि निर्वाचन जित्ने, संख्या पु¥याउने र सरकार बनाउने मात्र सोच हाबी भयो । नेताहरूमा पद र सत्ता बाहेक अरु केही देखिएन । अहिले कुनै पनि दलका नेताको कार्यशैली हेर्दा व्यक्तिगत स्वार्थ प्रेरित मात्र देखिन्छ । कुनै पनि पार्टीका नेताको लोकतन्त्रप्रति प्रतिबद्धता देखिँदैन ।