विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो ।
भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यास वरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार सङ्घ नेपालका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, सङ्गीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा. उपाध्याय लगातले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।
उपन्यासका बारेमा सङ्गीतकार सन्तोष श्रेष्ठले समीक्षा गरेका थिए भने प्रमुख अतिथि र अन्य अतिथिहरूले सरल र मिठासपूर्ण रहेको टिप्पणी गरेका थिए । टिन एजलाई लक्षित गरी लेखिएको यस उपन्यासमा समाजिक विषयवस्तु र जातीय विभेदका कुरा उठान गरिएको वक्ताहरुले बताएका थिए । पुस्तकले हाम्रो समाजका धेरै कुराहरूलाई उजागर गरेको भन्दै पढ्दा आनन्द मिल्ने उनीहरुको जिकिर थियो । बयालिस खण्डमा विभाजन गरिएको यो उपन्यास १८० पृष्ठको रहेको छ ।
सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको यस लोकार्पण समारोहमा सङ्गीतकार तथा गायक सागर अधिकारी ‘शरद’, निर्देशक माइकल चन्द, डब्बु क्षेत्री, गीता अधिकारी, सुरेन्द्र थापा, सुशील खनाल, राधव भट्टराई, उत्तम मैनाली लगायतका अतथिहरूको उपस्थिति रहेको थियो ।
डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफि लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । उनले गीत सङ्गीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेका छन् । उनका २४ एल्वमका सयौं गीत स्रोता/दर्शकमाझ आएका छन् । डा. उपाध्यायको यही अक्टोबर एक तारिखमा भारतबाट प्रकाशित हुने ‘फिल्मस् टुडे’ नामक म्यागिजनले पनि कभर स्टोरी बनाएको छ । भारतको यस लोकप्रिय म्याग्जिनको कभरमा आउने डा. उपाध्याय सम्भवत: पहिलो नेपाली हुन् ।
![](https://emusicdiary.com/wp-content/uploads/2022/03/kumar-rana-maruni-digital.jpg)