‘जिन्दगीको गीत’ लिएर आए गीतकार प्रकाशकृष्ण

-तुलसी गिरी ‘भावुक’


गीतकार प्रकाशकृष्ण ‘बाक्सिला’को एकल रचनामा रहेको गीतिसङ्ग्रह ‘जिन्दगीको गीत’ { संगालेको बेदना } गत शुक्रबार रेडियो सिटी एफएमबाट लाइभ अन्तर्वार्ताका साथ लोकार्पण गरिएको छ l रेडियोका कार्यक्रम प्रस्तोता हरिराम पौडेलले सो एल्बमका सङ्गीतकार तथा संयोजक सन्तोष दुमी र अतिथि वक्ता वरिष्ठ गायक / सङ्गीतकार सूर्य थुलुङसँग लाइभ कुराकानीको साथमा एल्बमका गीतहरु सार्वजनिक गरेका हुन् l एल्बम कार्यक्रमका अतिथि सूर्य थुलुङको हातबाट लोकार्पण गरिएको थियो l रेडियो सँगसँगै फेसबुक लाइभ समेत गरिएको सो कार्यक्रम बिहान ९ देखि १० बजेसम्म १ घण्टा प्रसारण भएको थियो l

एल्बममा ‘रातभरि जून रुँदा, हरपल तिमीसँगै बितोस्, त्यही रात एक चोटी, रावा खोला ताप खोलाको फेदी दोभान, मेरो संसार भत्काएर र  रम्दै होलिन् माया मनकी’ बोलका ६ वटा गीत रहेका छन् l जसमध्ये ‘रातभरि जून रुँदा’ एल्बमको टाइटल गीत हो l एल्बमका कूल गीतमध्ये दुई गीतमा सन्तोष दुमीको सङ्गीत रहेको छ भने अन्य गीतमा कुबेर राई, शान्तिराम राई, विपिन घिमिरे र देवेश राईले सङ्गीत दिएका छन् l यसैगरी एल्बमका ५ वटा गीतमा कमल दुमी राईको एकल स्वर रहेको छ l एउटा युगल स्वरको गीतमा कमल दुमीलाई टीका प्रसाईंले स्वरमा साथ दिएकी छिन् l सबै गीतको भिडिओ समेत निर्माण भईसकेको छ भने एल्बम लोकार्पण कार्यक्रमसँगै भिडिओहरु सन्तोष दुमी अफिसियल युट्युब च्यानलबाट पनि रिलिज गरिएको थियो l

लगभग साँढे २ दशक अघिदेखि स-परिवार हङ्कङलाई कर्मथलो बनाईरहेका गीतकार प्रकाशकृष्ण ‘बाक्सिला’ नेपाली सङ्गीत क्षेत्रको लागि नौलो नाम भएपनि धेरै अघिदेखि सङ्गीतसँग उनको अनन्य झुकाव र संलग्नता रहेको थियो l नेपालमा रहँदा उनी विद्यार्थी जीवनकालदेखि नै गीत लेख्ने र सङ्गीत भर्ने गर्थे l त्यो बेला सङ्गीतकर्म व्यावसायिक काम नभएको कारणले उनले त्यसलाई रहरमा मात्र सीमित राखे l तथापि रेडियो नेपालमा उनीद्वारा रचित केही बालगीत भने रेकर्ड भएका छन् l

‘त्यो बेला हरेक बर्ष कलेजमा नयाँ नयाँ स्वागत गीतहरु बनाइन्थ्यो l जनवादी गीत लेख्ने र सङ्गीत भर्ने काम गरिन्थ्यो l तत्कालिन समयको चर्चित म्युजिकल ब्याण्ड ‘सामना परिवार’ का कलाकारहरुले पनि जन जागरणका लागि ठाउँ ठाउँमा मेरा गीतहरु गाएका थिए l पछि ती मध्ये केही गीत रेकर्ड पनि भए भन्ने जानकारीमा आएको थियो l तर यता आएपछि मैले सङ्गीतकर्मलाई निरन्तरता दिन सकिनँ’ वरिष्ठ सङ्गीतज्ञ प्रकाश गुरुङसँग करिव ३ वर्ष शास्त्रीय सङ्गीत समेत सिकेका प्रकाशकृष्णले विगतका दिनहरु स्मरण गर्दै टेलिफोन वार्ताको क्रममा बताए l

खोटाङ जिल्ला, बाक्सिलाका स्थायी बासिन्दा प्रकाशकृष्ण हङ्कङ जानु अघि शैक्षिक व्यावसायमा आवद्द थिए l केही समयको लागि भनेर स्कूल साथीहरुलाई जिम्मा लाएर हङ्कङ पुगेका उनी उतैको माटो र हावापानीमा रम्दै – भिज्दै गए अनि बिस्तारै उतै अल्झिए l चाइनाबाट एमबीबीएस र यूकेबाट पोष्ट ग्रयाजुएट गरेकी ठूली छोरी डा. नेशन हाल नेपालमै जनस्वास्थ्य प्रतिष्ठानमा कार्यरत छिन् भने चाइनाबाटै ग्रयाजुएट गरी माष्टर्स पढ्दैगरेकी कान्छी छोरी रेगन हङ्कङमै शिक्षण पेशामा आवद्ध छिन् l छोरा त्रिभूषण पनि हङ्कङमै स्नातक तहमा अध्ययन गरिरहेका छन् l

कला-साहित्यप्रति गहिरो रुची राख्ने प्रकाशकृष्णले हङ्कङ पुगेपछि साथीहरुसँग मिलेर ‘पूर्व क्षितिज’ नामक त्रैमासिक र ‘सनराइज साप्ताहिक’ नामक पत्रिका पनि चलाएका थिए l उनी त्रैमासिक पत्रिकाको सम्पादक थिए l उनी त्यहाँको ‘एभरेष्ट डेली’ नामक पत्रिकामा पनि समसामयिक विषयमा लेखहरु लेख्थे l जमघटमा कविता, हाइकु र ताङ्का सुनाउने गर्थे l

‘यो मेरो पहिलो गीति एल्बम हो l एल्बम निकाल्ने सोच नै थिएन l पहिला यतै बसेको भाइ कमल दुमी अहिले नेपालमा छ l ऊ पहिलादेखि नै गीत गाउन / बजाउन खुब रहर गर्थ्यो l उसैको लागि भनेर यो एल्बमको योजना बनेको हो l आउने दिनमा यो सङ्गीतकर्मलाई निरन्तरता दिने योजना बनाएको छु’ प्रकाशकृष्णले टेलिफोनबाट जानकारी गराए l