गीतकार विश्वबल्लभ १ लाख ५१ हजार नगद सहित सम्मानित

-तुलसी गिरी ‘भावुक’


आज सम्पन्न गीतकार सङ्घ नेपालको नवौं राष्ट्रिय स्रष्टा सम्मान तथा एघारौं वार्षिकोत्सव एवं गीत विमर्श कार्यक्रम मा विशिष्ठ गीतकार विश्वबल्लभ नगद रू. १ लाख ५१ हजार र ताम्रपत्र सहित अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०७७ बाट सम्मानित भएका छन् l कार्यक्रम खोर्साने, मोरङस्थित सिद्धार्थ सेकेण्डरी स्कूलको सभाहलमा सम्पन्न भएको हो l कार्यक्रम सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्व एवं प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l

प्राप्त जानकारी अनुसार यस पटकको वर्षगीत पुरस्कारबाट रमेश दहालको गीत आफैँ हिँड्ने सर्वोत्कृष्ट भएको छ l गीतकार दहाल नगद रू. ५७ हजार र प्रमाणपत्र सहित पुरस्कृत भएका छन् l प्रतिस्पर्धाको टप टेनमा चुँडी जाने { राजु थापा }, आफैँ हिँड्ने { रमेश दहाल }, सोच्दैछु { सुरेश वाग्ले }, तस्बीर { रविन्द्र आशिष ‘शैली’ }, तिमीलाई { ध्रुव प्रसाद अम्गाई }, गन्जी मैलो { रमेश अधिकारी }, यही देशमा { एच. के. धिताल }, यो कस्तो कहर { प्रवल विष्ट }, बाँचुन्जेल हाँसो { बी. बी. थापा } र एकान्तमा { अगम विकराल } छनोट भएका थिए l टपटेन गीतबाट जुरीले दहालको गीतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो l जुरीमा गीतकार प्रमोद ढुङ्गाना र गंगाराम मुकारुङ रहेको थाहा भएको छ l

यसैगरी बर्षपुस्तक पुरस्कार मा गणेश श्रेष्ठ ‘अपेक्षा’ को मनको आकाश पुस्तक सर्वोत्कृष्ट भएको छ l गीतकार गणेशले पनि पुरस्कार स्वरूप नगद रू. ५७ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् l बर्षपुस्तक पुरस्कार को अन्तिम प्रतिस्पर्धाका लागि गणेश श्रेष्ठ ‘अपेक्षा’ को मनको आकाश, घन बहादुर थापा मगरको फूलको मुश्कान  र जे. बी. थुलुङको नथाक्ने मान्छे नामक तीन गीतिपुस्तक छनोट भएका थिए l

समारोहमा विदेशमा बसेर गीत लेखनमा उल्लेख्य योगदान पुर्याएवापत अमेरिकामा रहेका गीतकार हरि उप्रेती नगद रू. १५ हजार र प्रमाणपत्र सहित डायस्पोरा गीतकार सम्मान २०७७ बाट सम्मानित भए भने यसै बर्षबाट सुरु गरिएको विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७ बाट लम्जुङका गीतकार कृष्ण गुरुङ नगद रू. २५ हजार ५ सय ५२ र प्रमाणपत्र सहित पुरस्कृत भएका छन् l

गीतकार सङ्घ नेपाल
को आयोजना तथा सुन्दर हरैंचा नगरपालिका, मोरङको सह आयोजनामा सम्पन्न सो कार्यक्रमका लागि काठमाण्डौबाट गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङ, उपाध्क्ष वसन्त वित्यासी थापा, महासचिव रमेश कोईराला, सचिव महेश आचार्य, विशिष्ट गीतकार राजेन्द्र थापा, विश्वबल्लभ, गीतकारहरु रविन्द्र आशिष ‘शैली’, रमेश दहाल, कृष्ण गुरुङ, सुमी सिंह, एच. के. धिताल आदि हिजो बेलुकी नै मोरङ पुगेका थिए l