नेपालमै पहिलोपटक कथानक लाइभ दोहोरी ‘जसे र जमुना’

-तुलसी गिरी ‘भावुक’


बहुआयामिक सर्जक / कलाकार बी.बी. अनुरागीको परिकल्पना एवं सङ्गीतमा नेपालमै पहिलोपटक कथानक लाइभ दोहोरी जसे र जमुना को प्रसारण सुरु भएको छ l सामाजिक कथावस्तुमा आधारित चेतनामूलक यस लाइभ दोहोरीमा बाल बिबाह र त्यसबाट उत्पन्न हुने समस्याहरुलाई विभिन्न पाटोबाट केलाउने प्रयास गरिने कुरा कथाका परिकल्पनाकार एवं सङ्गीतकार अनुरागीले जानकारी गराएका छन् l जसमा नायक अर्थात् वर { जसे } र नायिका अर्थात् बालबधु { जमुना } को वरिपरि कथा बग्ने छ l भिडिओ मनोरञ्जक र सन्देशमूलक हुने छ l भिडिओको सुरुमै उदियमान प्रतिभा शिक्षा रसाईलीको मीठो उद्घोषणले दोहोरीका पात्र र पृष्ठभूमि छर्लङ्ग पारेको छ l  

जूनकिरी लाइभ स्टुडियो  नामक युट्युब च्यानलबाट प्रसारण सुरु भएको यो साप्ताहिक कार्यक्रमको पहिलो भिडिओ गत असोज १ गते च्यानलमा अपलोड भएको थियो l जसमा बिबाह पूर्वका घटनाक्रमहरुलाई प्रस्तुत गरिएको छ l चलचित्रको कथा झैं पात्रको एउटा सिङ्गो जीवनवृत्त समेटिने यस लाइभ दोहोरीमा बिबाहपूर्वका घटना, बिबाह र त्यसपछि उत्पन्न हुने पारिवारिक घटनाक्रमहरुलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिने छ l

यस लाइभ दोहोरीमा कलाकार ईन्द्र जीसीले हर्कराम, शिला आलेले चमेली, विमलराज क्षेत्रीले मिठुराम, रेशम निर्दोषले जसे, रिया खड्काले जमुना, मोहन केसीले जनक र यन प्रसाद न्यौपानेले छन्दुको भूमिका निर्वाह गरेका छन् भने वाध्यवादनमा सुकुराम रसाईली, कमल कुमार बिके, करन परियार, ईश्वरी प्रसाद भुसाल, सुनिल वर्देवा र निशान्त बिकेलाई देख्न सकिन्छ l यसैगरी कोरस स्वरमा शर्मिला अर्याल, सङ्गीता ढुङ्गेल, सूर्य गौतम, विन्दु सुनार र विन्दु बीसीले साथ दिएका छन् l

भिडिओका सिनेम्याटोग्राफर डीबी लोहनी र ताराकान्त बीके हुन् भने सम्पादन पनि ताराकान्तकै रहेको छ l सुकुराम रसाईली र श्यामश्वेत रसाईलीको मिक्सिङमा तयार भएको यस भिडिओको अडिओ रेकर्डिष्ट पदम ल्वागन हुन् l फरक प्रकृतिका र मौलिक प्रस्तुतिहरुकै कारण जूनकिरी लाइभ स्टुडियो युट्युब च्यानलले छोटो समयमै लोकप्रियताको लामो दूरी पार गरिसकेको छ l