एनआरएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैनः डा. केसी


गैरआवासीय नेपाली सङ्घ { एनआरएनए } का केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपाली नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा ‘राष्ट्रको लागि अन्तर्राष्ट्रिय युवा बहस’ कार्यक्रममा बोल्दै केसीले एनआरएनएका मुद्दाहरु कार्यान्वयमा ल्याउनका लागि पनि नेतृत्वमा आफ्नो विकल्प नभएको दाबी गरे ।

‘१० अर्बको संयुक्त लगानी कोषलाई मूर्तरुप दिन र विदेशमा रहेका नेपालीको बौद्धिक लगानी नेपालमा पुर्याउनका लागि म प्रतिवद्ध छु l  त्यसैका लागि पनि मैले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ’ डा. केसीले भने l विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गराउनका लागि आफूले पहल गर्ने केसीको भनाइ रहेको छ ।

एनआरएनएमा स्थानपनाकालदेखि नै आवद्ध केसी सन् २००७ मा एनआरएनए रुसको महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि उनी २००९ र २०११ मा केन्द्रीय सदस्य भएका थिए भने सन् २०१३ मा कोषाध्यक्ष भए । २०१४ मा जापानको टोकियोमा भएको सम्मलेनमा एनआरएनएको आर्थिक व्यवस्थापनका लागि डा. केसीले दशवर्षे योजना ल्याएका थिए ।

सन् २०१५ मा महासचिव बनेका केसीको सक्रियता र पहलमा ३० वटा देशमा संगठन विस्तार भएको थियो । २०१९ सम्म दुई कार्यकाल महासचिव बनेका केसी त्यसयता उपाध्यक्षका रुपमा निकै सक्रिय छन् । कोरोना महामारीविरुद्ध लड्न राहत सामग्री पठाउने तथा वितरण गर्ने कार्यका लागि सक्रिय केसीको राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदबीचको सम्बन्ध सुदृढ पार्ने भूमिका पनि उल्लेखनीय छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया र मध्यपूर्वमा गएर अलपत्र परेका नेपालीहरुको उद्धार र राहतका क्षेत्रमा समेत केसीको उत्तिकै सक्रियता रही आएको छ । केसीको पहल र समन्वयमा एनआरएनएमार्फत् हालसम्म २५ हजारभन्दा बढी पीडितले राहत प्राप्त गरिसकेका छन् । लामो समयसम्म एनआरएनएका विभिन्न भूमिकामा निकै सक्रिय र सफल भएका कारण अध्यक्ष पदका लागि केसीको उम्मेद्वारी निकै सशक्त देखिएको छ ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेका ८४ वटा देशमा हाल एनआरएनएको संगठन छ । तीमध्ये ६४ वटा देशमा राष्ट्रिय समन्वय परिषद्को चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको केसीले बताए । उनका अनुसार ती देशबाट ३४ सयभन्दा बढी डेलिगेट्सहरु चयन भइसकेका छन् । एनआरएनएको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न अक्टोबर दोस्रो साता निर्वाचन हुँदैछ ।

SUBSCRIBE 👉