गैर आवासीय नेपाली संघ एनआरएनएका प्रवक्ता तथा दशौँ महाधिवेशनका लागि ओमानबाट उपाध्यक्ष पदका प्रत्यासी डिबी क्षेत्रीले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीसँग काम गर्दा आफ्ना मुद्दाहरुको सुनुवाइ हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ यूरोपको बहस शृङ्खलाको ६५ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै प्रवक्ता क्षेत्रीले आफूले ७ – ८ वर्षदेखि काम गर्दै जाँदा कामबाट प्रभवित भएरै डा. केसीसँग नजिक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘कोरोनाको बेला सर्वसम्मत हुनुपर्छ भनेर कतै लागेको छैन । तर काम गर्दै जाँदा सशक्त ढंगले सबै साथीहरुको साथ माग्दै जाँदा बद्री केसीसँग मेरो निकटता छ, भोलि को को आउनुहुन्छ त्यो हेर्न बाँकी छ ।’ डा. केसीसँग वैदेशिक रोजगारका मुद्दा, हजारे अभियान लगायत विभिन्न उद्धार, राहतका कार्यदेखि परराष्ट्र, श्रममा सँगै काम गरेको हुनाले आफ्ना मुद्दाहरुको सुनुवाइ हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । सोही सन्दर्भमा उहाँले ‘म उम्मेद्वार हुँ र तपाईको मायाले जित्नेछु’ भन्दै आफू एनआरएनको उपाध्यक्षको प्रत्यासी भएको पनि बताउनुभयो ।
यस्तै, बहसमा तपाई बद्री केसीको उम्मेद्वार हो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘अहिलेसम्म आधिकारिक रुपमा कसैको चर्चा छैन l तर म गैर आवासीय संघको एउटा सशक्त टिममा रहने छु ।’ अनलाइनमार्फत भएको सो बहस कार्यक्रममा आफू बँधुवा मजदुरको समयको मानिस नभएकोले आफ्नो हक अधिकार र विचार मिल्ने नेतृत्वतिर लाग्न पाउनुपर्ने उहाँले जिकिर गर्नुभयो। ‘हामी बँधुवा मजदुरको समयका मानिस होइनौं । आफ्नो अधिकार प्रयोग गर्न हामी स्वतन्त्र छौं” उहाँले भन्नुभयो ।
आफ्नो राजनीतिक धार जुनसुकै भएपनि गैर आवासीय नेपाली संघमा राजनीतिलाई हाबी हुन नदिने उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गैर आवासीय नेपाली संघमा मैले राजनीतिलाई आफ्नो तर्फबाट हस्तक्षेप हुन दिने छैन ।’ अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।