प्रकाशकृष्ण ‘बाक्सिला’ को एकल रचनामा ‘जिन्दगीको गीत’ आउँदै


गीतकार प्रकाशकृष्ण ‘बाक्सिला’ द्वारा रचित छ वटा गीतहरूको सङ्ग्रह जिन्दगीको गीत बजारमा आउने तयारीमा रहेको थाहा भएको छ । कमल दुमी राईको स्वर रहने यस सङ्ग्रहमा टीका प्रसाईले यौटा गीतको लागि सह-गायनमा साथ दिनका छिन् । फरक फरक सङ्गीतकार रहेको यस गीति सङ्ग्रहमा कुबेर राई, शान्तिराम राई, सन्तोष दुमी, विपिन घिमिरे, देवेश राई लगायतको सङ्गीत रहेका छन् ।

सानैदेखि  गीत-सङ्गीतप्रति औधी रूचि राख्ने गीतकार प्रकाशकृष्ण  आफैं गायनका विध्यार्थी पनि हुन् । ०५० सालतिर सङ्गीत गुरु प्रकाश गुरुङसँग सङ्गीत कक्षा लिएका उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पस बिराटनगर पढ्दाताका भित्ते पत्रिकाका सम्पादक समेत रहेका थिए । सन् १९९७ देखि हङकङलाई कर्मथलो बनाईरहेका उनै गीतकार प्रकाशकृष्ण ‘बाक्सिला’ द्वारा रचित गीतहरूको संगालो जिन्दगीको गीत ( संगालेको वेदना ) को तयारी अन्तिम चरणमा पुगेको कुरा एल्बमका सङ्गीतकारहरु मध्येका एक सन्तोष दुमीले जानकारी गराएका छन् ।