गहन भावका गीतमा रमाउँदै सङ्गीतकार / गायक शिशिर योगी

-तुलसी गिरी ‘भावुक’


भिन्न प्रकृति र गहन भावका गीत मार्फत फरक पहिचान स्थापित गरेका प्रसिद्ध गायक शिशिर योगीले महाकवि लक्ष्मी प्रसाद देवकोटाको शब्दरचनामा रहेको गीत दमाईं दाइको भिडिओ सार्वजनिक गरेका छन् l सर्जक/कलाकार योगीको आफ्नै सङ्गीत र स्वरमा रहेको यस गीतको भिडिओ केहीदिन अघि योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट डिजिटल बजारमा आएको हो l नोर्बु शेर्पाको सङ्गीत संयोजन तथा मित्र लामाको मिक्सिङ/माष्टरिङ रहेको दमाईं दाइ को भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l प्रस्तुत गीत पूर्व समयमा प्रकाशित योगीकै गीति एल्बम मोड मोडमा समावेश रहेको छ l

गहन र दुरूह भाव बोकेको दमाईं दाइ गीतमा मान्छे मान्छे बीचको विभेद, मान्छेको नाटकीय चरित्र, बोली र व्यवहारको अन्तर तथा समाजभित्रको अनेकन नकारात्मकता उजागर पारिएको छ l गीतमा सियोको टुप्पोले घोचे झैं घोच्ने र बिझाउने समाजभित्रका स्थिति, प्रसङ्ग र घटना दमाईं दाइ समक्ष राखिएको छ l

यसैगरी योगीले एकदिन अघि मात्र महाकविकै रचनामा रहेको अर्को गीत लहरको बोली को भिडिओ पनि बजारमा ल्याएका छन् l योगीकै सङ्गीत / स्वरमा रहेको यो गीतको भिडिओ पनि Shishir Yogi युट्युब च्यानलमा अपलोड भएको छ l अमूल कार्की ढलीको म्युजिक एरेञ्ज रहेको यस गीतको रेकर्डिङ/मिक्सिङ पनि सङ्गम डिजिटलका प्राविधिक मित्र लामाले गरेका हुन् l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l गीतमा पानीको महिमा वयान गरिएको छ l पानीको स्वभाव, महत्व एवं जीवन र पानीको सम्बन्धको बारेमा गीतले गहन भाव पोखेको छ l यो गीत पनि योगीकै गीति एल्बम मोड मोडमा बाट लिईएको हो l