पुरानो समयको सासू बुहारीको कथामा ‘बाटुली’ को प्रसारण सुरु


नयाँ पारिवारिक टेलिशृङ्खला ‘बाटुली’ प्रसारणमा आएको छ । आर्टिष्ट खबर मिडियाले निर्माण गरेको यो टेलिशृङ्खला न्युज नेपाल एचडी टेलिभिजनबाट हरेक मङ्गलबार साँझ ७:३० मा प्रसारण हुने छ । पहिलो शृङ्खला गएको मङ्गलबार ( भदौ १ गते ) प्रसारण भएको थियो ।

सञ्चारकर्मी गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको ‘बाटुली’ टेलिशृङ्खला लगभग २५ बर्ष पुरानो कथामा निर्माण गरिएको बताइएको छ । मोबाइल युग भन्दा अघि नेपाली गाउँ समाजमा सासू र बुहारीबीच भएका बिभेदलाई यस टेलिशृङ्खलामा हेर्न सकिने कुरा निर्देशक गोपिकृष्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘पछिल्लो समय नेपालमा धेरै टेलिशृङ्खलाहरु निर्माण भइरहेका छन् l हामीले अलि फरक र पुरानो कथालाई उठान गरेका छौं ।’ टेलिशृङ्खलाको कथा पनि गोपिकृष्णले नै लेख्नुभएको हो ।

टेलिशृङ्खलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पूर्व नवलपुरमा गरिएको कुरा अर्का निर्देशक तथा व्यवस्थापक नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सिरियल नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायाङ्कन गरिएको हो । उहाँका अनुसार सुरुमा ४ भाग छायाङ्कन गरिएको छ ।

टेलिशृङ्खला ‘बाटुली’मा लोकप्रिय अभिनेत्री मौसमी मल्ल सासूको भूमिकामा हुनुहुन्छ भने सिपी पौडेललाई ससुराको भूमिकामा देख्न सकिने छ । कलाकार सङ्गम भुसालले बुहारीको भूमिका निभाउनुभएको छ । यसैगरी सिरियलमा खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बाल कलाकार खुशी अर्याल लगायतको अभिनय रहेको छ ।

अनिल लामिछानेको छायाङ्कन रहेको टेलिशृङ्खला ‘बाटुली’मा शारदा पौडेलको शृङ्गार, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन र निरज पन्थीको सहायक निर्देशन रहेको छ । ‘बाटुली’ आर्टिष्ट खबरको युट्युवमा मङ्गलबार साँझ ८ बजेबाट हेर्न सकिने थाहा भएको छ ।