राजेश थापा र दिलिप योञ्जन तामाङको सहकार्यमा जागरण गीत


गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङद्वारा रचित गीत  उठ्नु पर्छ उठाउनु पर्छ हामी तामाङ एक हुनुपर्छ को भिडिओ सार्वजनिक भएको छ । तामाङ जातिको जागरण सम्बन्धी भाव समेटिएको उक्त गीतले एकतावद्ध भएर आफ्नो हकहित र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई झकझक्याएको छ ।

श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको उक्त गीतमा लोकप्रिय सङ्गीतकार राजेश थापाले सङ्गीत दिएका हुन् भने निर्मला घिसिङ र फूल कुमार बमजनले स्वर दिएका छन् । पवन वाङ लामाको म्युजिक एरेञ्ज रहेको उक्त गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको हो भने एकान्त मगरले भिडियो छायाङ्कन तथा सम्पादन गरेका हुन् ।

अमेरिकामा रहेर विगत लामो समयदेखि नेपाली गीत सङ्गीत र सामाजिक सेवाका कार्यहरुमा सक्रीय गीतकार तामाङका गाउँबेसीमा फुलै फुल्यो, अन्जानमै माया बस्ला है, आफ्नै छायाले आदि गीतहरु चर्चित छन् । उनका विभिन्न एकल रचनाका साङ्गीतिक एल्बमहरु तथा गीत, कविता र मुक्तक सङ्ग्रहहरु पनि प्रकाशित छन् ।