परदेशबाट आमाको सम्झना गर्दै तारा श्रीष


गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ की फर्ष्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको आमा बोलको गीतको भिडिओ  सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द र अष्ट लामाको सङ्गीत रहेको सो गीतको भिडिओ ४ दिन अघि सार्वजनिक भएको हो ।

भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट दर्शकको मन जित्न सफल भएकी थिइन् तारा । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो । जीवन शाहीको निर्देशन रहेको यस गीतको भिडिओमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ ।

आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । गीत जति मनछुने छ गीतको भिडिओ पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतमा परदेशमा रहेका नारीहरूले स्वदेशमा रहेका आमाहरुको सम्झनामा भाव पोखेका छन् । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको कुरा गीत मार्फत प्रस्तुत गरिएको छ ।

दिपेन बस्न्यातको छायाङ्कन तथा सम्पादन रहेको यो भिडिओ भकारी एमडिसीले निर्माण गरेको हो । गीतको भिडिओ बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।