राष्ट्रिय भावको गीत लिएर आए अजय कार्की


भ्वाइस अफ नेपालमा भाग लिनका लागि काठमाण्डौ छिरेका अजय कार्कीले प्रतिस्पर्धामा विजयी हुने सपना पूरा नगरे पनि गायनमा लाग्नुको औचित्य भने पूरा गरेका छन् । उनले राष्ट्रिय भावको गीतबाट आफ्नो गायन यात्रालाई अगाडि बढाएका छन् ।

कार्कीले सिलौटो क्याफे अनामनगरमा पत्रकारहरुलाई भेला पारेर आफ्नो नयाँ गीत हामी देश बचाऔं को भिडिओ सार्वजनिक गरेका हुन् । सञ्चारकर्मी हरिराम पौडेल, म्यूजिक खबरकी सम्पादक सबिता पोखरेल, प्रेस काउन्सिल नेपालका कुशल आचार्य, गायक चिरञ्जीवी भण्डारी लगायतको उपस्थितिमा उनले गीतको भिडिओ सार्वजनिक गरेका हुन् । कार्यक्रममा अतिथिहरुले राम्रो सम्भावना बोकेका गायक कार्कीलाई सफलताको शुभकामना समेत दिएका थिए ।

हामी देश बचाऔं गीतमा शब्द, सङ्गीत र स्वर अजय कार्कीकै रहेको छ भने सञ्जीब बराइलीले सङ्गीत संयोजन गरेका छन् । भिडिओमा राजेश हमाल, शिशिर भण्डारी, दिपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ र ज्योत्स्ना थापा मगरको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन रहेको यस भिडिओको सम्पादन भने विष्णु खड्काले गरेका हुन् । अमोन रानाको कोरियोग्राफी रहेको यस भिडियोको निर्देशन निरेन श्रेष्ठले गरेका हुन् । भिडियो अजय कार्कीको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।