गुरू र चेलीको स्वरमा प्रेम समर्पण भावको गीत ‘मेरो मन तिमी’

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय सङ्गीतकार/गायक नरहरि प्रेमी र उदियमान गायिका अपेक्षा खनालको युगल स्वरमा रहेको गीत मेरो मन तिमी को भिडिओ सार्वजनिक भएको छ l भिडिओ सर्जक/कलाकार प्रेमीकै अफिसियल युट्युब च्यानल Narahari Premee बाट एकदिन अघि मात्र डिजिटल बजारमा आएको हो l पुष्पा पौडेलको शब्दरचनामा रहेको यो गीतमा राजेन्द्र बजगाईंको सङ्गीत संयोजन रहेको छ भने गीतको मिक्सिङ/माष्टरिङ सन्तोष पौडेलले गरेका हुन् l भिडिओमा राजकुमारको सम्पादन रहेको छ l प्रेम समर्पण भावमा रहेको यस गीतमा एक अर्काप्रतिको अगाध प्रेम प्रकट गरिएको छ l

श्रुति सङ्गीत विद्यालयका संस्थापक तथा सङ्गीत प्रशिक्षक नरहरि प्रेमी लामो समय अघिदेखि सङ्गीत एवं गायनमा निरन्तर क्रियाशील रहँदै आएका भर्सटायल सर्जक/कलाकार हुन् l उनले आधुनिक, पप र चलचित्रका गीतमा समेत सङ्गीत तथा स्वर दिँदै आएका छन् भने अपेक्षा श्रुति सङ्गीत विद्यालयकै जेहेन्दार विद्यार्थी हुन् l

सुरु सुरुमा केही नेपाली र हिन्दी कभर गीत गाएर औपचारिक गायन यात्रा आरम्भ गरेकी अपेक्षाको केही महिना अघि रमित थिङसँगको युगल स्वरमा नाच माया बोलको गीत सार्वजनिक भएको थियो l उनका गुरु नरहरि प्रेमीको शब्द/सङ्गीत रहेको सो गीतमा नरहरिले समेत गायनमा साथ दिएका थिए l