हृदयविदारक कथामा ‘त्यो तिम्रो चोखो प्रेमको नजर’

-तुलसी गिरी ‘भावुक’


साहित्यिक क्षेत्रमा जे.बी. संयोगीको नामले स्थापित गीतकार जीत बहादुर घलेको शव्दरचनामा रहेको गीत त्यो तिम्रो चोखो प्रेमको नजर को भिडिओ सार्वजनिक भएको छ l गीतमा आनन्द कार्की र अञ्जु पन्तले स्वर दिएका छन् l ओएसआर डिजिटल बाट एक हप्ता अघि रिलिज भएको यस भिडिओले यो समाचार लेखिरहँदा १ लाख ५८ हजार भ्युज पाईसकेको छ l

बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको भिडिओमा भिडिओका परिकल्पनाकार तथा निर्देशक आकाश अधिकारी र उमा गिरीलाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ भने शिव भट्ट, दीप्ता प्रकाश अधिकारी, इशान बिजु श्रेष्ठ, पृथ्वीलाल नेपाल, डिल्ली रावत र बाल कलाकार सुरभ भम लगायतका कलाकारहरुले समेत अभिनय गरेका छन् l भिडिओमा कमल राईको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन तथा वुद्ध गुरुङ र रोजन तामाङको सिनेम्याटोग्राफी रहेको छ l

एक अर्काप्रति अगाध प्रेम प्रकट गरिएको यस गीतमा नायक नायिकाले हाम्रो प्रेममा कसैको ईर्ष्यालु नजर नलागोस् र मलाई हेर्ने प्रेमिल नजर म माथि नै रहिरहोस् भन्ने चाहना व्यक्त गरेका छन् l गीतले अगाडि भन्छ- मलाई हेर्ने त्यो चोखो प्रेमको नजर अन्त कतैपनि र कसैका लागि पनि नजागोस् l गीतमा एक अर्काप्रति असीमित समर्पण भाव व्यक्त गरिएको छ l वियोगान्त कथावस्तुमा निर्माण गरिएको यस भिडिओमा  सशस्त्र प्रहरीको रुपमा रहेका नायकको दुश्मनहरुसँगको भीडन्तमा मृत्यु हुन्छ l गीतलाई परिकल्पनाकार तथा निर्देशक आकाश अधिकारीले मौलिक ढङ्गबाट यथार्थपरक र हृदयविदारक कथामा ढालेका छन् l