‘सङ्गीतलाई निरन्तरता दिन्छु l’-पविता परियार श्रेष्ठ


बस्तीपुर माध्यमिक बिद्यालय (सिराहा ) बाट साथीहरुसँग लहान सिनेमा हेर्न गएकी पविता एकाएक सगरमाथा अञ्चलव्यापी गीत प्रतियोगितामा  प्रथम हुन् पुगिन् । हुन त उनी सानैदेखि गीत गुनगुनाउँथिन् । पढाईलेखाई भन्दा गीत गाउनमै रमाउँथिन् उनी । बुबा आमाले राम्रो शिक्षाको लागि बस्तीपुर माध्यमिक बिद्यालय (सिराहा ) पठाउनुभएको थियो उनलाई । 

त्यो दिन लहानको सिनेमा हल जाने बाटैमा पर्ने एउटा स्कुलमा कार्यक्रम हुन लागेको रहेछ । कुरा बुझ्दा त सगरमाथा अञ्चलव्यापी गीत प्रतियोगिता रहेछ । सिनेमा हेर्ने कुरा छोडेर पविताले कार्यक्रम संयोजकसँग आफूलाई पनि प्रतियोगितामा सहभागी गराउन अनुरोध गरिन् । प्रतिस्पर्धामा भाग लिनका लागि नाम दर्ता गर्ने म्याद धेरैदिन अघि नै सकिएको थियो । संयोजकले उनलाई नमिल्ने कुरा जानकारी गराए । उनले धेरै अनुरोध गरिन् तर संयोजकले नियम बाहिर जान नसक्ने बताए l निराश भएकी पविताले फिल्म हेर्ने कुरा मनबाट निकालिन् र चौरमा बसेर दर्शकको रुपमा कार्यक्रममा सामेल भइन् l  खै किन हो ! केही समयपछि उही संयोजक उनको छेउमा आएर ‘ल  हुन्छ, गाउनुस् न त’  भने । सपना जस्तै भयो l उनमा खुशीको सिमा रहेन । केहीबेर तयारी गरिन् र स्टेज चढेर गीत गाईन् l  परिणाम आयो, उनी प्रथम भइन् । पछि एसएलसीको जाँचको बीचमा प्रतियोगितामा भाग लिन उनलाई पूर्वाञ्चलको झापा जानुपर्ने भयो । उनी खुशी खुशी गइन् र सान्त्वना पुरस्कार हात पारेर फर्किन् ।

उनी बेला बेलामा गाईघाट (उदयपुर) मा आयोजना हुने साङ्गीतिक   कार्यक्रमहरुमा गीत गाउँथिन् अनि औधि रमाउँथिन् । अमेरिका आएपछि न्युयोर्कका रेस्टुरेन्टहरुमा पनि उनले धेरैबर्ष गीत गाईन् । यही बेलामा उनले यस कुमारसँग ‘मायाको डोली चढाई’  बोलको युगल गीत गाइन् । गीत अत्यन्तै लोकप्रिय भयो l यो गीतको भिडिओ युट्युबमा ६ मिलियन भन्दा बढी हेरिएको छ । बसमा चढेको बेला आफ्नी छोरीको गीत बजेको सुन्दा उनका बुवा पनि निक्कै खुशी हुनुभयो।

सङ्गीत क्षेत्रमा लागिरहने प्रण भए मुताबिक उनले आफ्नो छोरालाई नेपाली गीत गाउन प्रेरित गर्ने गरेकी छिन् l निकट भविष्यमा आफ्नै गीत प्रविन बेडवालसँग गाएर छिट्टै आउँदैछिन् उनी । आफ्ना शुभचिन्तकहरुले पहिले जस्तै माया गरिदिनु हुनेछ भन्ने आशा गर्दछिन्  उनी l आगामी दिनमा घटीमा पनि बर्षमा एउटा गीत रिलिज गर्ने योजना भएको कुरा उनले बताएकी छिन् ।

*{ यो लेख पविता परियार श्रेष्ठसँगको कुराकानीको आधारमा नर्थ क्यारोलिना, अमेरिका निवासी तेजश्वी गिरीले तयार पर्नुभएको हो l }