आशालाग्दी प्रतिभा बिनुसा

-तुलसी गिरी ‘भावुक’


नेपाली सङ्गीत क्षेत्रमा अत्यन्तै राम्रो सम्भावना भएकी गायिका बिनुसा राईको आगमन भएको छ l पूर्वको रमणीय पहाडी जिल्ला खोटाङको बुईपा स्थाई बसोबास भएकी गायिका बिनुसाको एकल र युगल स्वरमा रहेका आधा दर्जन बढी गीतको भिडिओ समेत विभिन्न युट्युब च्यानलहरुबाट रिलिज भईसकेका छन् l यसैगरी ६-७ वटा गीत हालसालै रेकर्ड भईसकेको र रिलिज हुने क्रममा रहेको साथै केही गीत रेकर्डिङ्को क्रममा रहेको कुरा पनि बिनुसाले बताएकी छिन् l

‘सानैदेखि म गीत गाउन सोखिन थिएँ l बाबा स्कूलको टिचर हुनुहुन्थ्यो l मैले बाबाले पढाउने स्कूलमा नै पढेकी हुँ l स्कूलमा साङ्गीतिक कार्यक्रम हुँदा बाबा हार्मोनी बजाएर गीत गाउनुहुन्थ्यो l म पनि साथ दिन्थें l गाउँघरमा बिहे, पूजा लगायतका कार्यक्रम हुँदा पनि गीत गाइन्थ्यो’ बिनुसा भन्छिन् l

खोटाङबाटै प्लस टु गरेर स्नातक पढ्नका लागि राजधानी छिरेकी बिनुसाले घर-परिवारको सल्लाह बमोजिम पढाई पूरा नहुञ्जेल अन्त ध्यान दिईनन् l स्नातकको अन्तिम बर्षको परीक्षा दिएपछि मात्र सङ्गीतमा उनको औपचारिक यात्रा सुरु भएको हो l पहिलोपटक गजेन्द्र राईसँग युगल गीत ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ कभर गाएर यस क्षेत्रमा पाईला बढाएकी बिनुसाले यस बीचमा नेपाली र हिन्दी गरी लगभग आधा दर्जन कभर गाएकी छिन् भने फ्रेश कम्पोजका ‘जब एकदिन धुँवा भईजान्छ’, ‘तिम्रो मायाले मलाई’, ‘खै कस्तो हो यो सम्बन्ध’, ‘जब बिहान’ ‘भाग्यले नि छलिगयो’ ‘मौसम थियो चैत मासको’ लगायतका गीतका भिडिओ युट्युबमा हेर्न सकिन्छ l यतिबेला धमाधम रेकर्डिङ्मा व्यस्त रहेकी बिनुसाका ‘तिमीले र मैले हेर्ने जून’, ‘अँधेरीमा’, ‘कहिले आँशु’, ‘रातैमा देख्छु सपनी तिम्रो’ लगायतका गीत रेकर्ड भईसकेर रिलिज हुने क्रममा रहेका छन् भने अरु केही गीतपनि रेकर्ड भईरहेका छन् l भरखरै प्रसिद्ध लोकगायक तुलसी पराजुलीसँग उनले पूर्वेली लोक फ्लेवरको युगल गीत ‘सिरुपाते खुकुरीले’ गाउने अवसर पाएकी छिन् l पराजुली जस्ता अग्रज गायकसँग गीत गाउन पाएकोमा उनले खुशी प्रकट गरिन् l बिनुसाले तिहार गीतमा पनि स्वर दिएकी छिन् l

पूर्व समयमा डा. किराँतसँग केही महिना शास्त्रीय सङ्गीत सिकेकी र हाल कैलाश राईसँग सिकिरहेकी बिनुसा गीत समेत लेख्ने गर्छिन् l उनले गाएका गीतमध्ये केही उनकै शब्दरचना हुन् . ‘म त्यति लेख्ने मान्छे त हैन, तर कहिलेकाहिँ मूड चल्दा लेख्ने गर्छु’ उनी भन्छिन् . आकर्षक शारीरिक व्यक्तित्व भएकी बिनुसालाई केही भिडिओमा मोडलको रुपमा पनि देख्न सकिन्छ . ‘तर मेरो लक्ष मोडलिङ होइन’ उनी स्पष्ट पार्छिन् l

प्रसिद्ध सङ्गीत संयोजक तथा सङ्गीतकार चन्दु गोर्खालीसँग भेट भएपछि सङ्गीतकर्ममा अझ नयाँ उर्जा थपिएको बताउने बिनुसाका धेरैजसो गीतमा चन्दुकै सङ्गीत संयोजन रहेको छ भने केही गीतमा सङ्गीत समेत छ l बिनुसाको स्वर सुनेर आफू निकै प्रभावित भएको बताउँदै चन्दु भन्छन्- ‘व्यावसायिक गायिका बन्न सक्ने क्षमता देखेर नै बिनुसालाई हौसला दिईरहेको छु l’ बिनुसालाई उनको आफ्नै युट्युब च्यानल Binusa Entertainment मा पनि सुन्न सकिन्छ l आफ्ना गीत सुनेर, भिडिओ हेरेर प्रतिक्रिया दिनका लागि समस्त दर्शक-श्रोतालाई उनले आग्रह गरेकी छिन् l

{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }