गीतकार गुरुङका एकैसाथ दुई भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’


वरिष्ठ सर्जक बालक गुरुङ { बाल कुमार गुरुङ } ले एकैसाथ दुई गीतको भिडिओ सार्वजनिक गरेका छन् l शुक्रबार गीतकार सङ्घ नेपाल को सभाहल बिजुलीबजारमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गीतकार गुरुङले दुई भिडिओको एकैसाथ लोकार्पण गरेका हुन् l

सार्वजनिक गरिएका दुई भिडिओ मध्ये चन्द्र सूर्य अङ्कित झण्डा राष्ट्रिय भावमा रहेको छ l गीतकार बालक गुरुङकै सङ्गीतमा रहेको यस गीतमा राजेशपायल राई र अस्मिता अधिकारीले स्वर दिएका छन् भने गीतमा अशोक लोहरुङ राईको सङ्गीत संयोजन रहेको छ l रोजल थापाको निर्देशनमा तयार भएको यस गीतको भिडिओमा वीरेन्द्र भट्टको सिनेम्याटोग्राफी र अनिल रानाको सम्पादन रहेको छ l जसमा राजेशपायल राई, अस्मिता अधिकारी, बालक गुरुङ, शितल कादम्बिनी, कृष्णा चौधरी, कुसुम घताने, सत्यमान लामा, हिमाल शाह, केशवराज गुरुङ, याम बहादुर गुरुङ, चन्द्रा चाम्लिङ आदि कलाकारहरुले अभिनय गरेका छन् l

यसैगरी सार्वजनिक भएको अर्को गीत मेरा रहरहरु मा धीरज राईले सङ्गीत तथा स्वर दिएका छन् l पप शैलीको यस गीतमा गोपाल रसाईलीको सङ्गीत संयोजन रहेको छ l रोजल थापाकै निर्देशनमा निर्मित यस गीतको भिडिओमा धीरज लामा र कुसुम घतानेले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l वियोगान्त भावको यस गीतको भिडिओका सिनेम्याटोग्राफ़र वीरेन्द्र भट्ट हुन् भने सम्पादन अनिल रानाले गरेका छन् l दुबै भिडिओ सर्जक गुरुङकै आधिकारिक युट्युब च्यानल Pancham Music Balak मा अपलोड गरिएको छ l  

गीतकार सङ्घ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सङ्घका उपाध्यक्ष वसन्त बित्याशी थापा, महासचिव रमेश कोईराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जेबी संयोगी र कार्यसमिति सदस्य शितल कादम्बिनी लगायत गीत तथा भिडिओसँग सम्बन्धित कलाकारहरुको समेत उपस्थिति रहेको थियो l   

विद्यार्थी जीवनकालदेखि नै गीत, कविता र निवन्ध लेखनमा क्रियाशील रहँदै आएका बालक गुरुङले हालसम्म पर्खाल { समसामयिक साहित्यिक सँगालो }, स्टार { लोकपप गीति एल्बम }, साथीलाई { कवितासङ्ग्रह }, कुवेत कर्म { लोक आधुनिक गीतसङ्ग्रह }, ओईली झरेछ सयपत्री { उपन्यास } र सुर र सुगन्ध { लोक आधुनिक गीतसङ्ग्रह } प्रकाशित छन् l गीतकार सङ्घका पूर्व कार्यसमिति सदस्य तथा आजीवन सदस्य सर्जक बालक गुरुङ सामाजिक अभियन्ताका रुपमा पनि चिनिन्छन् l