भर्सटायल गायक देवमान

-तुलसी गिरी ‘भावुक’


कुनै जमाना थियो, काठमाण्डौमा म्युजिकल ब्याण्डहरुको निकै रगजग थियो l प्राय: ब्याण्डहरुले पाश्चात्य फ्लेवरका पप, रक र हिपहप गीतहरु गाउने भएकोले खासगरी युवा वर्गमा ब्याण्डहरुको क्रेज उच्च थियो l नेपालमा पाश्चात्य शैलीका गीत भित्र्याउने श्रेय ब्याण्डहरुलाई नै जान्छ l ४० र ५० को दशकलाई नेपाली म्युजिकल ब्याण्डको स्वर्णकाल मान्न सकिन्छ l ४० को दशकअघि लाइभ साङ्गीतिक कार्यक्रमहरु विरलै आयोजना हुन्थे l गीतको लाइभ प्रस्तुतिको संस्कृतिलाई फलाउन-फुलाउन पनि नेपाली ब्याण्डहरुको अहम् योगदान रहेको छ l

त्यो बेला सुरु सुरुमा त्यति व्यावसायिक नभएपनि बिस्तारै ब्याण्डहरु व्यावसायिक साङ्गीतिक समूहको रुपमा स्थापित बन्दै गएका थिए l निश्चित उमेर पार गरेपछि उच्च शिक्षा, पेशा-व्यावसाय र अन्य व्यवहारिक लगायतका कारणले गर्दा ब्याण्डका मेम्बरहरु लामो समयसम्म सहकार्य गर्न सक्दैनन् l त्यसैले पनि प्राय: ब्याण्डहरु कालान्तरमा हराएर जाने गरेका हुन् l तथापि अहिले पनि केही नेपाली म्युजिकल ब्याण्डहरुले स्वदेशदेखि विदेशसम्म आफ्ना कन्सर्टहरु दिईरहेका छन् l

५० को दशकमा Trust नामक ब्याण्डमा ड्रमरको रुपमा र पछि Risa नामक ब्याण्डमा गिटारिष्ट एवं साइड भोकलिष्टको रुपमा आवद्ध रही राजधानी लगायत देशका विभिन्न शहरमा लाइभ प्रस्तुति दिएका कलाकार देवमान तण्डुकार अहिलेसम्म पनि सङ्गीतमा क्रियाशील भएर लागिरहेका छन् l ‘ब्याण्डबाट हामिले ४ बर्षसम्म विभिन्न ठाउँमा प्रस्तुति दियौं l धेरै प्रतिस्पर्धाहरुमा पुरस्कृत पनि भयौं l सन् २००३ मा ‘आवर नेपाल डट्कम’ ले आयोजना गरेको ‘अल नेपाल बिट कन्टेष्ट’ मा हाम्रो ब्याण्ड दोस्रो भएको थियो l २००४ मा हामीले ब्याण्डबाट ‘प्यासी’ नामको गीति एल्बम पनि निकाल्यौं l पछि साथीहरु आफ्नो काममा व्यस्त बन्दै गएपछि ब्याण्डको सक्रियता पनि घट्दै गयो l म पनि केहीबर्ष आफ्नो पेशा-व्यावसायमा ब्यस्त भएँ l विगत ४ बर्षदेखि भने पुन: सङ्गीतकर्मलाई निरन्तरता दिईरहेको छु’ देव भन्छन् l

देवमानले सानैमा आमाको काख गुमाएका थिए l बुबाले दोस्रो बिबाह गरेपछि परिवार भएपनि सधैं आफूलाई एक्लो पाएका उनले ममताविहीन सङ्घर्षमय बालापन बिताउनुपरेको थियो l परिवार र आफन्तहरुबाट पक्षपात, घृणा र हिँसाको सामना गर्दै हुर्किएका देवमानले नराम्रो संगत र गलत कर्म भने कहिल्यै गरेनन् l युवा अवस्थामा आईपुगेपछि भेटिएकी सङ्गीता तण्डुकारसँगको प्रेममा उनले पहिलोपटक मायाको गहिराई महसुस गरे l त्यसपछि जिन्दगीमा नौलो बहार आयो l अनेक सपनाका फूलहरु फुले र संसार झन् प्रिय लाग्न थाल्यो l जुन प्रेम सार्थक बन्धनमा बाँधिएको आज १३ बर्ष पार भईसकेको छ l

देवमानले योगेन्द्र राजकर्निकार, श्याम शाही, परमेश्वर तण्डुकार लगायतका गुरुहरुसँग सङ्गीत सिकेका हुन् l लगभग २ दशक लामो सङ्गीत यात्रामा उनले आधुनिक, पप, रक, नेवारी, झ्याउरे, भोजपुरी, मैथिली, डोटेली र हिन्दी गीतहरु गाएका छन् भने यी मध्ये अधिकांश विधाका गीत रेकर्ड समेत भएका छन् l गीतार वादनमा समेत पोख्त उनी सङ्गीत क्षेत्रमा भर्सटायल गायकको रुपमा चिनिन्छन् l २०७७ सालमा नेवारी भाषाको गीतबाट दोस्रो ‘नेशनल पावर म्युजिक अवार्ड’ पाउन सफल गायक देवमानले २०७७ मा तेस्रो ‘नेशनल पावर म्युजिक अवार्ड’ मा निर्णायकको भूमिका समेत निर्वाह गरेका छन् l जसमा प्रसिद्ध गायिका सिन्धु मल्ल प्रमुख निर्णायकको रुपमा रहेकी थिईन् l खेलकूदमा समेत उत्तिकै रुचि राख्ने उनी कराँतेको फर्स्ट डन ब्ल्याकबेल्ट तथा प्रशिक्षक समेत हुन् l केही समय अघि उनको स्वरमा हल्ला भो, आमा के तिम्रो माया, जिन्दगी, सक्दिन, गुली चक्र [ नेवारीभाषा ], स्वेमते छ जित { नेवारीभाषा } र प्यासी बोलका गीत प्रकाशित भएका छन् भने छिट्टै देउडा भाषाको गीत लाउँदिन माया, तिमी मेरी हुन्छ्यौ र फूलको सुवास बोलका गीत रिलिज हुने क्रममा रहेका छन् l   

{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }