एक दशकदेखि निरन्तर सङ्गीत यात्रामा

-तुलसी गिरी ‘भावुक’


यसपटक गायक भूवन प्यासी अनामनगरको गुञ्जन स्टुडियोमा भेटिए l किसानका मर्म र भावना समेटिएको गीत ‘खोस्रेर माटो कणकणभित्र बिऊ जो रोप्छन् मनले पवित्र’ को रेकर्डिङको सिलसिलामा उनी व्यस्त थिए l यो गीतमा चाहिं उनको सङ्गीत रहेछ l निकट भविष्यमै राजधानीमा आयोजना हुन गईरहेको ‘राष्ट्रिय कृषक शिखर सम्मान’ कार्यक्रममा बजाउनका लागि सो गीतको तयारी भईरहेको कुरा भूवनले जानकारी गराए l आधुनिक, लोक, पप, तीज लगायत सबैजसो विधाका गीत गाईसकेका भरतपुर नपा-८, चितवन निवासी सर्जक/कलाकार भूवन प्यासी गीत-सङ्गीतको सिलसिलामा चितवन-काठमाण्डौ गरिरहन्छन् l

उद्योग वाणिज्य सङ्घ, चितवनले २०६६ सालमा आयोजना गरेको चितवन महोत्सवमा सनद अञ्जानको शब्द र विशाल ढकालको सङ्गीतमा ‘बिसाए नि मनको भारी’ बोलको आधुनिक गीत गाएर सर्वोत्कृष्ट गायकको पुरस्कार जितेपछि औपचारिक रुपमा गायन यात्रा सुरु गरेका भूवनले २०६७ सालमै ७ वटा गीत रहेको एकल स्वरको गीति एल्बम ‘यादहरु’ प्रकाशन गरेका थिए l जसको टाइटल गीत ‘वसन्तको आगमनमा हरियाली छायो’ रहेको थियो l ‘त्यो बेला सिकारु थिएँ l युट्युब पनि यति लोकप्रिय भईसकेको थिएन l प्रमोशन पनि अलि राम्रोसँग भएन l त्यसैले यो एल्बमले मलाई त्यति चिनाएन पनि l तर मैले धेरैकुरा सिकें’ उनी भन्छन् l केही समय स्वर साधाना गरिसकेपछि शंकर अधिकारी ‘घायल’ को रचना र बीबी अनुरागीको सङ्गीतमा उनले रोमाण्टिक भावको गीत ‘हल्का हल्का चुम्न देऊ ए काली’ रेकर्ड गरे l ‘यसमा अलि मेहेनत पनि गरेको थिएँ l यही गीतले मलाई मार्केटमा भूवन प्यासी भनेर चिनायो’ उनी खुशी हुँदै भन्छन् l त्यसपछि ट्राफिक जाम, झम्के झम्के, मान्छे भुइँमा ढल्छ, हे बरै लगायतका गीत रेकर्ड भए l पारु शाहीसँग उनले गाएको राष्ट्रिय भावको गीत ‘यो देशको लागि जन्म लिएको’ ले बजारमा राम्रो चर्चा पायो l तत्कालिन एसएसपी रमेश खरेल लगायतले अभिनय गरेको सो भिडिओ अहिले पनि टेलिभिजनतिर बजिरहन्छ l भूवनले ‘लेङ्गा हरर’ बोलको एउटा तीजगीत र ‘पहिले पनि हार्थ्यो गरीब’ बोलको एउटा कोरोना गीतमा पनि स्वर दिएका छन् l

मुख्य विधा गायन भएपनि पछिल्लो समय उनी शब्दरचना र सङ्गीत समेत आफैं गर्न थालेका छन् l विभिन्न विधाका गरी लगभग ४ दर्जन गीतमा स्वर दिएका भूवनले आधा दर्जनभन्दा केही बढी गीतमा सङ्गीत दिनुका साथै त्यति गीतको शब्दरचना समेत गरेका छन् l पहिल्यै ‘भेटी’ र ‘यो पागल मन’ नामक फिल्ममा गीत गाईसकेका भूवनले भरखरै नयाँ फिल्मको लागि अञ्जु पन्तसँग ‘यो मनको आकाशमा’ बोलको गीत गाएका छन् l जसमा अर्जुन पोखरेलको शब्द/सङ्गीत रहेको छ l यसैगरी हालसालै ‘चोर सिपाही’ चलचित्रका लागि मेलिना राईसँग उनले ‘ढल्क्यो टोपी शिरैमा’ बोलको गीत रेकर्ड गरेका छन् l ‘हल्का हल्का’, ‘खायो बरै भंमराले’ र ‘यो देशको लागि’ दर्शक/श्रोताले सर्वाधिक रुचाएका उनका गीत हुन् l

नारायणी सङ्गीत विद्यालय, चितवनका गुरु वद्रि शर्माका असल शिष्य भूवनले हालसम्म कालिका म्युजिक अवार्ड { २ पटक }, नाट्येश्वर म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, बक्स अफिस म्युजिक अवार्ड लगायत ७ वटा अवार्डहरु प्राप्त गरेका छन् l चितवनको नारायणगढबाट सञ्चालित बोसो र आभाष टेलिभिजनका सञ्चालकहरु मध्येका एक उनी एनटीभीको विकाश र वहस कार्यक्रमका पब्लिक रिलेशन अफिसर समेत हुन् l गीत सङ्गीतसँग सम्बन्धित संस्था सङ्गीत रोयल्टी सङ्कलन समाज र प्रस्तोता समाजमा समेत उनको आवद्धता रहेको छ l  

{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }