विदेशमा रहेका सर्जकहरुको पीडा

-डा. चन्द्र गिरी
झापा, नेपाल l हालः डुर्हम,  नर्थ क्यारोलिना, अमेरिका


गीतको बारेमा लेख्ने तेरो योग्यता चाहिँ के हो ? भन्नुहोला । विगत डेढ बर्षदेखि अनवरत रुपमा त नभनौ, अमेरिकी जीवनको व्यस्तताबाट फुर्सद  निकालेर बेला बखत गीत लेख्ने कोसिस गर्दैछु । दुई चारवटा म्युजिक भिडिओ पनि निकालेको छु । यति छोटो अनुभव भएर लेख्दा मनमा जे लाग्यो त्यही लेख्ने छुट हुने रहेछ र भुलचुकमा पाठकहरुले सिकारु हो भनेर माफी दिने सम्भावना पनि हुने रहेछ । अब विषयबस्तुतिर लागौं ।

बिदेशमा बसेर नेपाली गीत-सङ्गीत क्षेत्रको बिकाशको लागि सानो भएपनि योगदान दिन सकूँ र मनभित्र पालेर राखेको वा भरखरै पलाएको रहरलाई पूरा गरौँ भनेर गीत लेख्ने, सङ्गीत भर्ने, गाउने र म्युजिक भिडिओमा अभिनय गर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । समग्र रुपमा भन्नुपर्दा यो अनुभब अत्यन्तै खुशीप्रद र लाभदायी भएको अनुभूति हुन्छ । जीवनमा भोग्नुपर्ने विविध पाटा जस्तै केही समस्याहरु पनि नदेखिएका हैनन् । यहाँ तिनै समस्याहरुलाई समेट्ने प्रयास गरिएको छ l  उद्देश्य हो भविष्यमा सुधार कसरी गर्न सकिन्छ भन्ने ।

अत्यन्त्यै इमान्दार र प्रोफेसनल कलाकारहरु प्रशस्तै हुनुहुन्छ l  यहाँ उहाँहरुको कुरा गरिएको छैन । फेरि यहाँ उल्लेख भएका सबैकुरा सबैजनाले गर्नुहुन्न । जम्मा ७ वटा मुद्दा मात्र समेटिएको छ l  अरु केही मुद्दाहरु अवश्य छुटेका छन् । 

१. पैसा लिने काम नगर्नेः यदाकदा अडियो वा भिडिओ बनाउन दिएको पैसाले काम नगरी सम्पर्कबिहीन हुने । सामाजिक सञ्जालमा खुल्ला भीडन्त हुँदा नरमाइलो लाग्ने ।

२. डलर रुखमा फल्छः बिदेशमा बस्नेको काम गर्दा सकेसम्म बढी पैसा लिने । अलिअलि बढी लिए त ठिकै हो, ढाड नै भाँच्चिने गरि त लिनु भएन नि !

३. ढिलासुस्तीः बिदेशी नेपालीको कामलाई कम प्राथमिकता दिने । काम लिएको आधारमा पूरा गर्नुको सट्टा आफूलाई अलि बढी फुर्सद भएको बेला मात्र काम गर्ने, नत्र अरु नै काममा ब्यस्त रहने । केही गीतहरुलाई प्राथमिकता दिएर सक्नुपर्ने हुन्छ, त्यो कुरा बुझ्न सकिन्छ ।

४. सञ्चार गाह्रो: कलाकार र बिदेशी नेपालीबीच कतिपय कुराहरुमा नियमित रुपमा सञ्चार गरि काम गर्न अप्ठेरो पर्नाले भने जस्तो वा सोचे जस्तो काम नहुने । उदाहरणको लागि रचनाकारको भाव म्युजिक गर्दा वा गाउँदा बुझ्न बुझाउन नसक्नु । भेटेर कुरा गरे जस्तो नहुने ।

५.  बजार भाउः नेपालको मार्केटको बारेमा बिदेशी नेपालीले बुझेको हुँदैन l सम्बन्ध छुटिसकेको हुन्छ l बुझाउन निक्कै गाह्रो हुने ।

६. सिकारुः केही बिदेशी नेपालीहरु गीत-सङ्गीतमा पोख्त भएपनि बाँकी धेरै सिकारु हुनुहुन्छ । रचनालाई सङ्गीत भर्दा, गीत रेकर्डिङ गर्दा, भिडिओ शूट गर्दा, नेपाली कलाकारहरुले निक्कै मेहेनत गर्नुपर्ने ।

७. महत्वाकांक्षी: नेपाली परिवेश नबुझी बिदेशी नेपालीहरुले निकै ठूलो सपना देखिहाल्ने भाइरल र कालजयी गीतको ।

सारांशमा भन्नुपर्दा यी समस्याहरु नआउन् भन्नका लागि लिखित सम्झौता गरेर मात्र काम गर्नु नै सबैको हितमा हुन्छ ।

{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }