-डा. डीआर उपाध्याय
आजभन्दा करिब डेढ वर्षअघि चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना सङ्क्रमण क्रमशः विश्वव्यापी रुपमा फैलिएको छ । यसले महामारीको रूप लिएको थियो । शक्तिशाली राष्ट्रहरुलाई समेत यसले थप चुनौती दिँदै आयो । कोरोनाले धनी गरीव कसैलाई पनि छोड्दैन । र छोडेन पनि । यतिबेला नयाँ प्रजातिको सङ्क्रमण देखिएको छ । जसले गर्दा आमनागरिकमा एक खालको त्रास उत्पन्न भएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक लाखौँको संख्यामा देखिएको सङ्क्रमणको उच्चतम दरले विश्वलाई नै एकखालको चुनौती दिइरहेको छ । खुला सीमानाका कारण सहजरुपमा आउने जाने भईरहँदा नेपाल त्यसबाट बढी प्रभावित भएको छ । सीमा नाकामा कडाई गरौं । कोरोनाका कारण बिगत बर्षमा लामो समयसम्म स्कुल, कलेज बन्द रहेका थिए । अहिले पनि त्यही स्थिती दोहोरिएको छ । देशको अर्थतन्त्र फेरि डामाडोल हुने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।
यो बेला कोभिडको यो भयावहले फेरि एकपटक सवैलाई झस्काएको छ । नेपालको शिक्षा क्षेत्रदेखि सवै क्षेत्रलाई कोरोनाको दोस्रो लहरले थप चिन्ता बढाएको छ । सवैभन्दा पहिला आफू सुरक्षित हुने र अरुलाई पनि सुरक्षित हुन सिकाउने बानीको बिकास गरौं । मैले पटक पटक सुझावको रुपमा भन्दै पनि आएको छु कि कोरोनासँग खेलवाड नगरौं । यो रोगसँग खेलवाड गरे ज्यान नै खतरामा पर्न सक्छ । भिडभाडमा नजाने, जहाँ पायो त्यही नखाने, सावुन पानीले मिचीमिची हातमुख धुने, माक्स लगाउने जस्ता काम गरे पनि कोरोना तपाई हामीसँग आउँदैन । तातो बेसार पानी खाने बानी खाने बानी बसालौं ।
रोगबाट जोगिन सवैभन्दा पहिला आफू नै सर्तक रहनु पर्छ । आफू सर्तक रहे मात्र समाज सर्तक रहन्छ । कोरोना भनेको माहामारी रोग हो । यसवाट हामी सवै जोगिनु पर्छ । कसैले पनि अटेरि गरेर बस्नु हुँदैन । यतिबेला बढी प्रभावित भएका क्षेत्रका विद्यालयहरु बन्द छन् । खासगरी निजी विद्यालयका सञ्चालकहरुले विद्यालय बन्द गर्न चाहेका थिएनन् । सरकारको निर्देशनले स्कुल बन्द गर्न बाध्य भएका छन् । अहिले फेरि अनलाइन कक्षाहरु पुनः सुरु भइरहेका छन् । यतिबेला कोभिड सङ्क्रमणको आक्रमणमा बढी मात्रामा बालवालिका परेका छन् । यो कुरा स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसबाट १८ वर्षमुनिका बालबालिका बढी प्रभावित भएका छन् ।
कोरोनाकै कारण हालै भक्तपुरस्थित एक विद्यालयका कक्षा ६ मा पढ्ने ११ वर्षीय बालकको मृत्यु भइसकेको छ । यसकारण पनि अहिले शिक्षाक्षेत्र अत्यन्त संवेदनशील बनेको छ । सरकारले उपत्यका लगायत १४ जिल्लालाई अति प्रभावित जिल्लाका रूपमा राखेको छ । यी जिल्लामा केही समयका लागि विद्यालय बन्द भएका छन् । अब यी क्षेत्रका कलकारखाना र उद्योगधन्दा बन्द गर्नुपर्ने विज्ञहरूको सुझाव छ । सुरक्षा सतर्कता भनेको साबुनपानीले बारम्बार हात धुने, मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने हो । महामारी सिर्जित विषम परिस्थितिको मूल्याङ्कन गरी त्यसको सामाना गर्न सवै एक हुनुपर्ने बेला आएको छ । हरेक कुराको बेला छँदै ठोस निर्णय लिन सक्नु पर्छ । अहिलेको सबैभन्दा बढी बुद्धिमत्तापूर्ण कदम भनेको स्कुल बन्द गरेर अनलाइन कक्षा सुरु गर्नु नै हो । यसमा अभिभावक खुशी भएका छन् । कोरोनाको त्रासमा बालवालिकाहरुलाई स्कुल पठाउन अभिभावकहरुलाई समस्या थियो । अब यो रोगसँग सबै मिलेर मुकाविला गर्नु बाहेक अर्को कुनै बिकल्प छैन । उच्च मनोवलका साथ यो रोगसँग लड्नु पर्छ । मनोबिज्ञान कमजोर बनाउनु हुँदैन । कमजोर मनोबिज्ञानले आफैलाई सताउँछ । त्यसैले उच्च मनोबलका साथ कोरोनासँग लडौं ।