‘म हराएकी छैन’- नलिना चित्रकार


एकताका नेपालमा महिला पप गायिकाको रुपमा ठूलो प्रसिद्धि कमाएकी गायिका नलिना चित्रकार हाल अमेरिकाको क्यालिफोर्नियामा श्रीमान र एक छोराको साथमा बस्छिन् । फेब्रुअरी १०, २०२१ मा उनीसँग तेजस्वी गिरीले टेलिफोन मार्फत गर्नुभएको वार्ताको सारांश यस्तो थियो-


म्युजिक क्षेत्रको सुरुआत
आफ्नी दिदी र ठूलो बुबाको गीति क्षेत्रमा अलिअलि चासो भएपनि  नलिना नै परिवारको पहिलो सदस्य थिइन्, जसले नेपाली पप गीत गायनमा एउटा नयाँ आयाम थपिन् । बहु प्रतिभाकी धनी नलिना, गीत गाउनुको अलावा गीत लेखन र सङ्गीत भर्न पनि उत्तिकै कुशल छिन् । विविध भाषाहरुमा गीत गाएकी नलिनाका कतिपय गीतहरु सन्देशमूलक पनि छन्, ऐक्यवद्धताको पक्षमा । 

भारतको चण्डीगढ विश्व विद्यालयमा छात्रवृत्ति पाएर पनि बुबाले अनुमति नदिएका कारण म्युजिक पढ्न जान नपाएकोमा उनलाई निक्कै दु:ख लाग्छ । केटी भएर गीत गाउँदा वा रेकर्ड गर्दा आईपर्ने समस्याहरुसँग पनि उनी चिर परिचित छिन् । उदाहरणको लागि उनलाई नेपालमा रहँदा राती रातीसम्म बसेर गीत रेकर्ड गर्ने छुट थिएन l  साँझ पर्नासाथ घर फर्किसक्नुपर्ने हुन्थ्यो ।  


एल्बम र गीतहरु

आठवटा भन्दा बढी एल्बमहरु प्रकाशन भईसकेका छन् भने करिव २०० भन्दा बढी गीतहरु गाईसकेकी छिन् उनले ।


सम्मान र पुरस्कारहरु
सन् १९९९ र २००५ मा  नलिनाले  नेपालको सर्वोत्तम पप गायिकाको उपाधि पाइन् l अहिले विश्वका बिभिन्न देशहरुमा आयोजना हुने सभा समारोहहरुमा गीत गाउनका लागि उनलाई बोलाईन्छ । छिन्नलता पुरस्कार गुठीले प्रदान गर्दै आएको ‘छिन्नलता’ लगायत अरु धेरै पुरस्कारहरुले सुशोभित भएकी छिन् नलिना । अमेरिकी नेपालीहरुको सबैभन्दा पुरानो संस्था एएनएको कन्फरेन्समा पनि उनले गीत गाईसकेकी छिन् ।   

 
अमेरिकाको बसाई र निरन्तरता
पछिल्लो समयमा एल्बम र गीत निकाल्न नपाए पनि  उनका केही गीतहरु भिडिओ सहित रिलिज हुने क्रममा छन् । कोविड-१९ प्यानडेमिक भन्दा अगाडि अमेरिका र क्यानडाका बिभिन्न राज्यहरुमा कन्सर्ट र स्टेज प्रोग्राममा व्यस्त रहन्थिन् उनी । यूरोप, मध्यपूर्व, मलेशिया, कोरिया आदि देशमा पनि उनको माग भईरहन्थ्यो l त्यहाँ गएर श्रोताहरुलाई भरपूर मनोरञ्जन दिनमै व्यस्त हुँदै आएकी थिईन् उनी । त्यो समय फेरि छिट्टै फर्कने कुरामा उनी विश्वस्त छिन् l नेपालमा रहँदा भन्दा अमेरिका गएपछि अन्तर्राष्ट्रिय जगतमा उनी अझ लोकप्रिय भएकी छिन् ।


फ्यानहरुलाई सन्देश
‘संसारभरि छरिएर बस्नुभएका मेरा शुभ-चिन्तकहरुलाई म के विश्वास दिलाउन चाहन्छु भने, म हराएकी छैन । केही सशक्त गीतहरु भिडिओ सहित छिट्टै श्रोतासामु आउँदैछु । सधैँ झैँ माया गरिदिनुहोला ।’
{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }