लथालिङ्ग, भताभुङ्ग र भाईरल नेपाली साङ्गीतिक बजार

-अशोक अर्याल
पाल्पा, नेपाल l { हाल: ग्राण्ड र्यापिड्स, मिचिगन, अमेरिका }


चार दशक अगाडिसम्म गरिब नेपाली जनताको लागि गीत सुन्ने माध्यम रेडियो नेपाल मात्रै थियो । अलिक पैसा भएकाले गीतको अडियो क्यासेट किनेर गीत सुन्ने गर्दथे । प्रविधिको बिकाससँगै क्यासेट, सिडी, पेनड्राईभ हुँदै अहिलेको साङ्गीतिक बजार पूर्ण रुपमा डिजिटल भैसकेको छ ।  पहिले गीत रेकर्ड गर्नको लागि विभिन्न स्वर परीक्षाहरु पास गर्नुपर्ने हुन्थ्यो । तर अहिले ईच्छा र पैसा हुनेले आफ्नो स्वरमा गीत रेकर्ड गर्न सक्ने वातावरण छ । पहिले पहिले क्यासेट तथा सिडीमा ४ देखि १० वटासम्म गीत राखेर एल्बम निकाल्ने चलन थियो भने अहिले एउटा मात्रै गीत निकाल्ने चलन आईसकेको छ । प्रविधिको बिकाससँगै विभिन्न साङ्गीतिक माध्यमहरु भएपनि युट्युब सबैभन्दा लोकप्रिय छ । लगभग पूरै विश्वमा बनेका गीतहरु युट्युबमा हेर्न र सुन्न पाईन्छ ।  त्यसैगरी विभिन्न सामाजिक संजालहरुले पनि यसलाई नै बढावा दिएका छन् । 

भनिन्छ, अहिले नेपालमा हरेक १० मिनेटमा एउटा गीत रेकर्ड हुन्छ l  कुनै हप्ता त एकै दिनमा ५५ वटासम्म गीत रिलिज भएको रेकर्ड छ ।  ती मध्ये बढीमा ४-५ वटा गीतले मात्रै लगानी उठाउने गरेका छन् l आम्दानीको त कुरै छैन । एउटा गीतको अडिओ र भिडिओ बनाउन ४ लाखदेखि १८ लाख सम्म खर्च गरेको खबरहरु आईरहेका छन् ।  कोरोनाको कहर कम हुँदै गएको अवस्थामा चलेका र ख्यातिप्राप्त कलाकारहरुले त मेला, महोत्सव तथा विदेशमा हुने कार्यक्रमबाट आफ्नो लगानी उठाउलान् l तर केही प्रतिशत बाहेक अरु सबै गीतको लगानी डुब्ने शत प्रतिशत निच्चित नै छ । अचम्मको कुरा यस्तो अवस्थामा पनि सङ्गीतमा लगानी गर्ने लगानीकर्ताको कुनै कमी छैन । निकै महङ्गा कलाकार, निर्देशक र  लोकेसन राखेर गीतको भिडिओ बनाईन्छ ।  लगानीकर्ताको लगानी डुबेपनि गीत सङ्गीतसँग जोडिएका अरु सबैको भने निक्कै राम्रो आम्दानी हुने गरेको छ । चलेका कलाकारहरुले एउटा म्युजिक भिडियोमा अभिनय गरे बापत ८० हजार देखि २ लाखसम्म पारिश्रमिक लिने गर्दछन् भने निर्देशकहरुले २५ देखि ४० हजार सम्म लिन्छन् । 

गैर जिम्मेवार कलाकारहरु
एउटा गीत गाएको १० देखि ३० हजार तथा एउटा गीतमा अभिनय गरे बापत ८० देखि २ लाखसम्म पारिश्रमिक लिने कतिपय कलाकारहरुको त  गीतको रेकर्डिङ अथवा सुटिङ सकिएर पारिश्रमिक बुझेपछि कुनै अत्तो पत्तो नै हुँदैन । आफूले गाएको अथवा अभिनय गरेको गीत कहिले रिलिज हुन्छ, गीतको पोष्टर कस्तो छ, फाईनल अडियो- भिडियो कस्तो बन्यो केही कुराको मतलब राख्दैनन् । बस् पारिश्रमिक बुझेपछि आवश्यकता भन्दा पनि देखावटीका लागि किनेका घर तथा गाडीको किस्ता तिर्ने चाँजो पाँजो मिल्यो भनेर खुशी हुन्छन र आफ्नो कर्तब्य नै बिर्सिन्छन् । कहिलेकाहीं एउटै कलाकारले गाएको अथवा अभिनय गरेका २-३ वटा गीतहरु एकैदिन रिलिज हुन्छन् । यो कुरा कति कलाकारलाई थाहा नै हुँदैन भने कतिले थाहा भएर पनि मतलब नै गर्दैनन् । एकैदिन एउटै कलाकारको धेरै गीत रिलिज हुँदा गीतको प्रचारमा निकै ठूलो असर पर्न जान्छ । हाम्रो नेपाली साङ्गीतिक बजार निकै सानो छ । दर्शक श्रोताको अनुपातमा निकै बढी बजारमा आउने गीतलाई दर्शक श्रोता सामु पुर्याउने निकै ठूलो चुनौती रहेको छ । 

पहिले पहिले रेडियो टिभीमा बज्ने गीतहरुको प्रोमो सुनेर गीत सुन्ने हेर्ने गरिन्थ्यो भने अहिले युट्युब, फेसबुक, टिकटक जस्ता सञ्जालहरु प्रचार प्रसारको लागि प्रयोग गरिन्छ । अझ भनौं अहिले गीत सङ्गीतको प्रचार गर्ने मुख्य आधार भनेको सामाजिक सञ्जाल नै हो । 

लगभग सबै कलाकारहरु सामाजिक सञ्जालमा सक्रिय छन् । केही प्रतिशत कलाकारहरुले गीतको पोष्टर अथवा म्युजिक भिडियो रिलिज हुने बेलामा फेसबुक, इन्स्टाग्राम र  टिकटकमा लाईभ आउने अनि गीतको बारेमा जानकारी दिने गर्छन् । साथै गीत रिलिज भैसकेपछि गीतको प्रचारमा निकै मिहिनेत गर्छन् l जुन अहिलेको साङ्गीतिक बजारमा निकै महत्वपुर्ण छ । कतिपय कलाकारहरुले आफूले गाएको अथवा अभिनय गरेको गीतलाई आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्न पनि हिच्किचाउँछन् । लगानीकर्ताले सैयौंपटक बिन्ति गर्नु पर्छ । आखिर त्यो प्रचार कलाकार स्वयम्को लागि पनि त हो । यदि त्यो गीत सफल भयो भने गाउने तथा अभिनय गर्ने कलाकार पनि त सफल हुने हो नि ! तर उनीहरुलाई कुनै मतलब नै छैन । कुनैपनि काम सफल पार्न त्यो काममा संलग्न सम्पूर्ण सदस्यहरुको उत्तिकै भूमिका रहन्छ l तर अधिकांश कलाकारहरु ’खेताला’ को ब्यबहार गर्छन् । जसरी एउटा खेतालाको काम दिनभर काम गरेपछि सकिन्छ त्यस्तै गीत गाउनेले गीत गायो, अभिनय गर्नेले अभिनय गर्यो, काम सकिएपछि पैसा बुझ्यो l त्यसपछि जे सुकै होस् कुनै मतलब छैन ।

भाईरलकै पछिपछि
अहिलेको नेपाली साङ्गीत गीतिक बजार ’भाईरल’ को मात्रै रहेको छ ।  आफ्नो सम्पूर्ण जिन्दगी सङ्गीतको लागि समर्पण गरेका र लामो समय  सङ्गीतको साधना गरेका कलाकारहरुको त्यागको कुनै लेखाजोखा नै छैन । जो सामाजिक सञ्जालमा ’भाईरल’ छ, चाहे राम्रो काम गरेर होस् चाहे नराम्रो काम गरेर, उसैलाई गीत गाउन लगाउने र  म्युजिक भिडियोमा अभिनय गर्न लगाउने चलन छ । जसलाई सङ्गीतको ’स’ र अभिनयको ’अ’ पनि थाहा छैन उही साङ्गीतिक बजारमा ’हिट’ छ । ’भाईरल हिट’ हुनेहरुको लागि केही  आम्दानी त होला तर सङ्गीतको ज्ञान र अनुभब नभएकाको ’भाईरल’ कति दिनसम्म टिक्छ ? जब २- ४ दिनपछि ती ’भाईरल’ लाई कसैले वास्ता गर्दैन, अनि के हुन्छ उनीहरुको जिन्दगीमा ? कस्तोलाई ’भाईरल’ बनाउने भन्ने कुरा दर्शक स्रोताको हातमा छ ।  यसको लागि दर्शक-स्रोताले आफ्नो विवेक प्रयोग गर्नुपर्ने देखिन्छ ।  अहिले त स्थापित र ख्यातिप्राप्त कलाकारहरुले पनि ’भाईरल’ को सहायता लिने गरेका छन् । आधिकारिक नभए पनि अहिले ’युट्युब भिउज’ को आधारमा गीतलाई सफल र असफल भन्ने गरिन्छ । विभिन्न उपायहरु अपनाएर आफ्नो गीतको युट्युबमा भ्युज बढाउने गरिन्छ । अझै अहिले त ’उसको’ भन्दा ’मेरो’ गीत थोरै दिनमा १० लाख युट्युब भ्युज बनाउनको लागि  ‘भिउज’ किन्नेहरुको पनि कमी छैन । यसले नेपाली साङ्गीतिक बजार कता जाँदैछ भन्ने बारेमा अहिलेदेखि नै सोच्नुपर्ने नित्तान्त आवश्यक छ । 

चोरी बजार
विभिन्न सञ्चार माध्यमहरुमा गीत चोरी भएका घटनाहरु प्रशस्तै सुन्न पाईन्छ । अहिलेका एकदमै ख्यातिप्राप्त कलाकारहरु पनि चोरीको घटनामा रुमलिएका छन् । विभिन्न मुद्दा मामिलामा फसेको देखिन्छ । धेरै पैसा लगानी गरेर बनाइएका गीतहरु युट्युबमा अपलोड गरिसकेपछि हटाउनुपर्ने घटनाहरु धेरै नै भेटिएका छन् । कुनै लय जुधेर, कुनै शब्द मिलेर, कुनै नराम्रा शब्दहरु भएर त  कुनै सरकारका क्रियाकलापहरुलाई ब्यङ्ग्य गर्यो भनेर । कसैले अन्जानमा गल्ति गरेका हुन्छन् भने कसैले जानी जानी । यदि एउटा गीत-सङ्गीत हेर्ने सेन्सर बोर्ड हुने थियो भने  सायद कुनैपनि गीत अपलोड गरिसकेपछि हटाउनुपर्ने अवस्था आउने थिएन होला । 

म्युजिक कम्पनीको ठगी
सङ्गीत सबैलाई मनपर्ने चिज हो । सङ्गीतमा रुचि भएका तर विदेशमा बस्ने नेपाली लगानीकर्तालाई नेपाली म्युजिक कम्पनीहरुले गीत बनाउने भनेर पैसा लिने तर पछि सम्पर्कमै नरहने घटनाहरु पनि सुन्नमा आइरहन्छन् । त्यस्ता म्युजिक कम्पनीहरुलाई कानूनको दायरामा ल्याउने कुनै सङ्घ संस्था छैनन् । लगानीकर्ताले पनि कुनै अग्रिमेन्टको  कागज नबनाई यत्तिकै पैसा दिने चलन छ l जुन एकदमै गलत छ ।  यसको लागि लगानीकर्ता नै स्वयंसचेत हुनुपर्ने देखिन्छ । 

{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }