‘आगो पिएर बाँच्ने’ को फिमेल भर्सनमा दिपा सुहाङ

तुलसी गिरी ‘भावुक’


औपचारिक यात्राको सुरुआती दिनदेखि नै एकपछि अर्को अत्यन्तै कर्णप्रिय गीतहरु गाएर सफलताको यात्रामा अघि बढिरहेकी गायिका दिपा सुहाङले पछिल्लो समय गाएको कभर गीत आगो पिएर बाँच्ने को भिडिओले रिलिजको छोटो समयमै युट्युबमा आकर्षक भ्युज पाईरहेको छ l

जीवनाथ धमलाको शब्द तथा प्रसिद्ध सर्जक, कलाकार, लेखक तथा निर्देशक नारायण रायमाझीको सङ्गीतमा रहेको यस गीतका पहिलो गायक सृजन बजगाईं हुन् भने मेल भर्सनको कभर केही महिना अघि प्रशान्त तामाङले गाएका थिए l फिमेल भर्सनको कभर भिडियो भने नयाँ वर्षको १ गते रिमा इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो l मनोज खड्काको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको यस गीतको भिडियो मिराज अर्यालको छायाङ्कन/सम्पादनमा निर्माण भएको हो l गीतमा पीडैपीडाको पहाडले थिचेर पनि विवश जिन्दगी बाँचिरहेको एउटा मान्छेको कथा-व्यथा हृदयस्पर्शी ढङ्गले पोखिएको छ l

दिपा सुहाङको स्थायी बसोबास पूर्वको रमणीय पहाडी जिल्ला पाँचथर हो l बेला बेलामा उनी भिडिओ मोडलिङमा समेत देखिंदै आएकी छिन् l पूर्व समयमा बजारमा आएका आधुनिक, लोक तथा लिम्बू भाषाका लोकप्रिय गीतले उनलाई सफलताको एउटा उचाई दिईसकेका छन् भने उनको सङ्गीत यात्राले व्यावसायिक बाटो समातिसकेको छ l   वरिष्ठ सर्जक नारायण रायमाझीसँग सहकार्य गर्न पाउनु आफ्नो अहोभाग्य भएको कुरा दिपाले बताएकी छिन् l