‘भाईरल हुन गीत गाएको होईन’ -शिव बि.क.

तुलसी गिरी ‘भावुक’


प्रसिद्ध कोरियोग्राफर तथा म्युजिक भिडिओ निर्देशक शिव बि.क. यही नयाँबर्ष २०७८ को पहिलो दिनमा अर्थात बैशाख १ गते आफ्नै शब्द/सङ्गीत र स्वरको गीत ‘तिमी नभए’ को भिडिओ लिएर दर्शक/श्रोतामाझ आएका छन् l शिवको आफ्नै कोरियोग्राफी र निर्देशन समेत रहेको यो भिडिओमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी एवं मिलन विश्वकर्माको सम्पादन रहेको छ भने माधव श्रेष्ठले सहायक निर्देशकको रुपमा शिवलाई सघाएका छन् l शिव फिल्म्सको प्रस्तुति रहेको यस भिडिओमा पल शाह, दुर्गेश थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ l भिडिओका निर्माता उषा लामा, उर्वशी बि.क. र शिव स्वयं हुन् l गीतमा श्यामश्वेत रसाईलीको सङ्गीत संयोजन रहेको छ l

विगत २५ बर्षदेखि चलचित्र, आधुनिक, लोक तथा लोकदोहोरी लगायतका गीतको भिडिओ निर्देशन तथा कोरियोग्राफीमा निरन्तर क्रियाशील रहँदै आएका शिव बि. क. यस गीतको सम्बन्धमा भन्छन् –’बर्षौंदेखिको गायक बन्ने चाहना बल्ल पूरा भएको छ l म व्यावसायिक गायक हैन l यो मेरो सपना मात्र हो l न त भाइरल हुनका लागि नै यो गीत / भिडिओ गरेको हुँ l’

भिडिओ निर्देशन सम्बन्धी कसैसँग दीक्षा नलिएका शिवका भने यस क्षेत्रमा स्थापित धेरै चेलाहरु छन् l उनलाई ‘बिना गुरुका गुरु’ भनेर पनि चिन्ने गरिन्छ l उनले पसिना, लम्फु, बारमासे तिम्रै छोरी तरुनी, रङ्गीन, धूम-३, प्रसाद, उल्झन लगायतका चलचित्रका साथै दर्जनौं लोकप्रिय म्युजिक भिडिओका निर्देशन / कोरियोग्राफी गरेका छन् l ‘तिमी नभए’ को भिडिओ हेरेर सुझाव प्रतिक्रिया दिनका लागि उनले स्रोता/दर्शकलाई आग्रह गरेका छन् l