वैकुण्ठ र शितलको युगल आवाजमा ‘पिरतीमा ए प्लस’

प्रकाश सुवेदी


लोकदोहोरी क्षेत्रमा स्थापित गायक बैकुण्ठ महत र गायिका शितल शर्माको युगल आवाजमा ‘पिरतीमा ए प्लस’ बोलको लोक दोहोरी शैलीको गीत शितल शर्मा युट्यूव च्यानल मार्फत नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको छ । वहुचर्चित गीतकार रमेश बिजीको शब्द सिर्जना रहेको उक्त गीतमा गायक महतकै लय र कृष्ण बिक `भाञ्जा´ को सङ्गीत संयोजन रहेको छ नेपाली सङ्गीत बजारमा निकै रुचाइएकी नायिका अञ्जली अधिकारीको साथमा अर्जुन गौतमको अभिनय रहेको उक्त गीति भिडियोमा मनोज कार्कीको सम्पादन, करण चैसिरको छायाङ्कन र मौसम हिमालीको निर्देशन रहेको छ ।

गीतले क्याम्पस जीवनमा किशोर किशोरी बिच हुने प्रेमको विषयलाई उठाएको छ । गायक वैकुण्ठको ‘पढाइमा त यो साल ब्याक लाईहाल्छ पिरतीमा ए प्लस आईहाल्छ’ टुक्काबाट सुरुआत भएको गीत शितलको ‘बिचमा पढाइ छुटे नि जोडिन्छ माया छुटे जिन्दगी मोडिन्छ’ टुक्कासँगै बिट मारिन्छ । सामान्य श्रोताले यो भिडियो हेरेर या श्रवण गरेर पढाइ भन्दा ठूलो त मायाप्रेम नै पो रहेछ भन्ने बुझ्न सक्लान् तर यो गीतको उद्देश्य यस्तो हैन । गीतले उज्ज्वल भविष्य निर्माणको अभिलासा सहित उच्चशिक्षा हासिल गर्न जाने तर पढाइलाई नै कम प्राथमिकतामा राखेर माया प्रेममा बरालिने किशोर किशोरीहरुलाई अप्रत्यक्ष व्यङ्ग्य गरेको छ ।

रुप र रङ्गको आकर्षणमा सतही माया त जाग्ला तर जीवन चल्न सिप अर्थात ज्ञान नै चाहिन्छ भन्ने गीतको भाव छ । गीतको मध्यभागतिर ‘नपढेर जागिर त पाइँदैन माया गर्न योग्यता चाहिँदैन’ भनिएता पनि कसैको आकर्षणको घेराभित्र पर्नका लागि पनि योग्यता चाहिन्छ । उच्च शिक्षा हासिल गर्न बजार झरेका हाम्रा छोराछोरी पनि कतै कच्चा उमेरमै बाहिरी रुपको आकर्षणमा लहसिएर पिरतीमा बरालिने त हैनन् ? भन्ने अभिप्राय सहित अभिभावकहरुलाई समेत झक्झक्याउन वाध्य बनाउने यो गीतको समग्र भाव सकरात्मक नै छ ।